सविधानसभाका पूर्व सदस्य रामेश्वर प्रसाद ढुङ्गेलको निधन


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसका नेता एवं सविधानसभाका पुर्व सदस्य रामेश्वर प्रसाद ढुङ्गेलको आज दिउँसो निधन भएको छ । हृदयघातका कारण ६१ वर्षको उमेरमा ढुङ्गेलको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । उहाँको आजै साँझ ७ वजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।

ढुङ्गेलको निधन प्रति नेपाली कांग्रेस भक्तपुरले गहिरो दुख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपुरणिय क्षति पुगेको नेपाली कांग्रेस भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले बताउनुभयो ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी हुनु भएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । देउवाले स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

कांग्रेसले शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको जिल्ला सभापति थापाले बताउनुभयो ।

पुर्व सविधानसभाका सदस्य ढुङ्गेलका श्रीमतीको निधन भई सकेको छ भने उहाँका तीन छोरा छन् ।