छोरी सुरक्षा कार्यक्रम कालिकोटबाट सुरु


कालीबहादुर मल्ल, कालिकोट ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महिला हिंसा, जातीय विभेदको प्रमुख कारण आर्थिक विपन्नता भएको वताउनु भएको छ । बैक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमको मंगलबार कालिकोट जिल्ला सदरमुकाम मान्ममा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा वताउनु भएको हो ।

कर्णलीको समाजमा अहिले पनि घरेलु हिंसा, लैगिक हिंसा,छाउपडीप्रथा छोरीमाथि हुने विभेद कायमै रहेकाले कर्णाली प्रदेश सरकाले छोरी सुरक्षा कार्यक्रम ल्याइएको जानकारी गराउनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम अनुसार साउन महिना यता जन्मेका कर्णाली प्रदेशका सवै छोरीहरुको बैक खाता खोली सुरुवातमा एक हजार र प्रत्येक महिनामा पाँच सयका दरले २० वर्षसम्म प्रदेश सरकारले रकम जम्मा गर्ने भएको छ । छोरीको खातामा जम्मा हुने एकमुष्ट रकम २० वर्ष पुगेपछि मात्र पाउने छन् ।

छोरी सुरक्षा कार्यक्रम उदघाटन समारोहका सभाअध्यक्ष समेत रहनुभएका कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दल रावल यस कार्यक्रमले सरकारको जनता प्रति अपनत्व स्थापित गरेको वताउनु भयो ।

कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मत्री पत्मा खड्काले कर्णाली प्रदश सरकारले छोरीको सम्मान गर्नुका साथै बालविवहा, महिला हिंसा,घरेलुहिंसा जस्ता समाजिक अपराधको पनि अन्त्य हुने विश्वास दिलाउनु भयो ।

कालिकोट खाँडाचक्र नगरपालिका– १ की डेढ महिनाकी जमुना सुनार र सोही नगरपालिका– २ की साढे ३ महिनाकी जानकी परियारको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर सो कार्यक्रमको शुभारम्भ गरिएको छ ।