नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शेयर निष्काशन गर्ने


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले बैंकले समिक्षा अवधिसम्म हासिल गरेका उपलब्धि, चालू आवको लागि तय गरिएका योजना तथा लक्ष्य एवम् भावी रणनीतिबारे शेयरधनीलाई जानकारी गराउनु भयो।

१२ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६ दशमलव १० रुपियाँ, प्रतिशेयर नेटवर्थ १०६ दशमलव ५७ रुपियाँरहेको छ। उक्त सभाले नियमनकारी निकायको स्वीकृतिपश्चात आठ अर्ब रुपियाँको आठ करोड कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ।

उक्त सभाबाट अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी आगामी चार वर्षे कार्यकालको लागि सञ्चालकमा निर्विरोध निर्वाचित हुनुभएको छ।

साथै रामशरण पुडासैनी नेपाल सरकारबाट मनोनित सञ्चालक हुनुुहुन्छ। यस बैंकले विदेशी वित्त बजारबाट अफसोर्स बन्ड जारी गरी ५ अर्ब भित्र्याउने कार्य अघि बढाइसकेको छ।

स्रोत परिचालनतर्फ २ वटा जलविद्युत् आयोजनामा ३ अर्ब लगानी स्वीकृत गरिसकेको छ भने सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाको पहिचान एवं आवश्यक अध्ययन गरिरहेको छ।