नेप्सेमा दोहोरो अंकको गिरावट



नेपाल समाचारपत्र, काठमाडौं।

अघिल्ला दुई साता वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको शुरूदेखि नै गिरावट भएको छ। अघिल्लो दिन सामान्य अंकको गिरावट भएको नेप्से सोमबार भने दोहोेरो अंकले घटेको छ। यस दिन नेप्से १३ दशमलव ७५ अंकले घटेर ११५४ दशमलव ११ बिन्दुमा झरेको छ।

कुल १६६ कम्पनीका १३ लाख ७१ हजार १३४ कित्ता शेयर ४० करोड ७९ लाख रुपियाँमा कारोबार भएको छ। यस दिन परिसूचकसँगै कारोबार रकम र शेयर कारोबार संख्यामा पनि घटेको छ। सोमबार कारोबारमा आएका सबै उपसमूह घटे पनि एनएमबि बैंकको कारोबार भने उच्च भएको छ।

यस बैंकको १ लाख १३ हजार ५६४ कित्ता शेयर ४ करोड ५६ लाख ६० हजार रुपियाँमा कारोबार भएको छ।निर्जीवन बीमा उपसमूह सबैभन्दा धेरै ३ दशमलव ६८ प्रतिशतले घटेको छ।

दोहोरो अंकले घटेको बजारमा दिव्यश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ। यस कम्पनीको शेयर ५ दशमलव ४५ प्रतिशत बढेको छ। तर, हिमालयन पावर पार्टनरको शेयरमूल्य सोमबार सबैभन्दा धेरै अर्थात ९ दशमलव ४९ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्