एक वर्षमा ५ प्रतिशत काम !

0
Shares

गणेश साम्पाङ, पाँचथर।

प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्नुभएको एक नम्बर प्रदेशको मेरुदण्डका रूपमा रहेको भेडेटार रवि राँकेभञ्ज्याङ मोटरबाटो एक वर्षमा जम्मा पाँच प्रतिशत मात्र काम सम्पन्न भएको छ।चार जिल्ला धनकुटा, मोरङ, इलाम र पाँचथर जिल्लाका एक नगरपालिका र सात गाउँपालिका छुँदै भेडेटारदेखि राँकेभञ्ज्याङ जोड्ने एक सय किलोमिटरको सो बाटो एक नम्बर प्रदेशकै महत्वपूर्ण लोकमार्गका रूपमा रहेको छ।

उक्त बाटो भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिले ३६ महिनामा सम्पन्न गर्ने गरी गत वर्ष सम्झौता भएको थियो। सझौताअनुसार एक वर्षमा आठ प्रतिशत र १८ महिनामा ३३ प्रतिशत काम सम्पन्न गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको थियो तर एक वर्ष बितिसक्दा पनि साढे चारदेखि पाँच प्रतिशतभन्दा बढी काम भएको छैन।

कन्सलटेन्ट इन्जिनियर भूपाल खड्का भन्नुहुन्छ। सम्झौताअनुसार अब छ महिनामा २८ प्रतिशत काम गर्नुपर्ने देखिन्छ तर यो सुस्त गतिले त्यो काम सम्पन्न हुने अवस्था देखिँदैन खड्का भन्नुहुन्छ। मेची र कोशी अञ्चलका चार जिल्लाका बासिन्दाको समृद्धिसित गाँसिएको यो मोटरबाटोको कालोपत्रे गर्ने काम अति सुस्त छ।

मोटरबाटोको शिलान्यास भएको एक वर्षमा पाँच प्रतिशत मात्र काम हुनु भनेको गैरजिम्मेवारपूर्ण काम हो मोटरबाटो शिलान्यास हुँदा यस क्षेत्रका नागरिकले गरेको आशा अब निराशामा परिणत हुँदै छ ।यस क्षेत्रका उपभोक्ताहरू निराश छन्। मिक्लाजुङ गाउँपालिका–८ का वडा अध्यक्ष रामेश्वर बाजी भन्नुहुन्छ।

निर्माण कम्पनीले सो योजनाका लागि थोरै जनशक्ति र प्रर्याप्त निर्माण सामाग्री जुटाउन नसकेका कारण काममा ढिलाइ भएको हो। उनीहरूको काम गराइ सुस्त छ यो सडक योजनाभित्र विद्युत् पोल सार्नुपर्ने र सामुदायिक वनका रुख काट्नुपर्ने भए पनि त्यसले काम रोकिएको छैन। उनीहरूकै कारणले काममा प्रगति नभएको हो भेडेटार–रबि–राँके सडक योजना प्रमुख इन्जिनियर राजेन्द्र शाह भन्नुहुन्छ।

प्रदेश १ कै महत्वपूर्ण र गौरवको मोटरबाटो पूर्वी धनकुटा, उत्तरी मोरङ, पश्चिमी इलाम र दक्षिण्ी पाँचथरका लाखौं जनताको समृद्धिसित गाँसिएको छ। यो मोटरबाटोले यस क्षेत्रको व्यापार पर्यटनको क्षेत्रमा ठूलो टेवा पुर्याउँछ पाँचथर उद्योग वाणिज्य संघ शाखा रविका महासचिव दिनेश खनाल भन्नुहुन्छ।

मोटर चलेको २९ वर्षपछि बल्ल कालोपत्रे हुन लागेको सो बाटो ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ रुपियाँमा भारतीय कम्पनीले निमार्ण गर्ने जिम्मा लिएको हो। सम्झौतामा उल्लेख भएको शर्त बमोजिम काम नदेखिएकाले कम्पनीलाई चेतावनीपत्रसमेत योजनाको तर्फबाट दिइसकिएको कन्सल्टेन्ट इन्जिनियर खड्का भन्नुहुन्छ।

प्रदेश नं. १ कै गौरवको योजनाका रूपमा रहेको १ सय किलोमिटर ३ सय ६७ मिटर दुरीको सो मोटरबाटोको कालोपत्रे गर्ने काम सुस्त भएको हुँदा माथिल्लो निकायबाट निमार्ण पक्षलाई दबाब दिनुपर्ने हुन्छ र काम गर्ने सन्दर्भमा यिनीहरूको समन्वयको अभाव देखिन्छ चौबिस गाउँपालिका धनकुटाका अध्यक्ष खजिन्द्र राई भन्नुहुन्छ।

सो योजनाको कार्य प्रगति सन्तोषजनक नभएको सन्दर्भमा निमार्ण व्यवसायी एप्को इन्फ्राटेक प्रालिका कन्ट्रयाक्ट मेनेजर शशिधर सिंह सो मोटरबाटोमा पर्ने राजारानी, बुधबारे आसपास र पुरानो पञ्चमी खण्डमा धमाधम काम भइरहेको अब चाडै जनशक्ति वृद्धि गरेर कामलाई गति दिने बताउनुहुन्छ।

३६ महिनामा सम्पन्न गर्नुपर्ने सो सडक योजनामा पर्ने ७५ वटा पोल सार्नुपर्ने भएकाले सो कामको टुंगो लागिसकेको इलाम पाँचथर र धनकुट्टा जिल्लामा गरी ३ हजार ८ सय थान रुख काट्नुपर्ने देखिएकोले सो कामको प्रक्रिया अघि बढी सकेको प्रमुख शाह बताउनुहुन्छ।

यो मोटरबाटोमा मुख्य गरी सडक चौडा गर्नुपर्ने ग्रेड मिलाउनुपर्ने ग्याबिन वाल ह्युम पाइप टेवा पर्खालका काम अलिक सुस्त गतिमा भइरहेको हुँदा कामको गति बढाउन निर्देशन दिएका छौं शाह भन्नुहुन्छ।

पूर्वी पहाडका ४ जिल्लालाई छोए पनि यस मोटरबाटोले तेह्रथुम र ताप्लेजुङ जिल्लाका केही क्षेत्रका बासिन्दालाई समेत प्रत्यक्ष सुविधा पुर्याउँछ। तराइमा उत्पादित र शहरका सामग्री पहाडमा लैजाने र पहाडमा उत्पादित नगदेबाली तरकारी फलफूल जडीबुटीजस्ता वस्तु बजारतिर लैजाने प्रमुख बैकल्पिक राजमार्ग भएको हुनाले पनि यो मोटरबाटो यस क्षेत्रको मेरुदण्डको रुपमा लिने गरिएको मिक्लाजुङ गाउँपालिकाका पाँचथरका उपाध्यक्ष उर्मिला राई भन्नुहुन्छ।