राजधानीमा छैनन् लैंगिकमैत्री शौचालय, नमुनाको बारेमा महानगर बेखबर

0
Shares

मनोज रेग्मी, काठमाडौं।

राजधानीका सार्वजनिक शौचालय एउटा पनि लैंगिकमैत्री नभएको पाइएको छ। राजधानीमा भएका सार्वजनिक शौचालयमा पुरुष र महिला मात्रै समावेश गरिएको छ, तर अतिरिक्त महिला समलिंगी, पुरुष समलिंगी, दुई लिंगी, तेस्रो लिंगी र अन्तरलिंगीका लागि त्यस्ता सार्वजनिक शौचालयमा कुनै ठाउँ छैनन्।

काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत भन्नुहुन्छ– ‘हामीले लैंगिकमैत्री शौचालय भनेर केबल पुरुष र महिलालाई मात्र समावेश गर्ने गरेका छौं।तर, थर्ड जेन्डर महिला र पुरुषका लागि भनेर छुट्टै किसिमका शौचालय राजधानीमा अहिलेसम्म निर्माण भएका छैनन्।

‘समलिंगीका लागि कस्तो नमुना बनाउने भन्ने आफूलाई पनि खबर नभएको र त्यस्तो मोडलको विषयमा कुनै पनि संघ संस्था र व्यक्तिबाटै पनि आबाज नआएको उहाँ बताउनुहुन्छ।नागरिकता वितरण, सामाजिक सुरक्षा, रासन भत्तालगायतका थुप्रै सरकारी सुबिधाबाट यस्ता वर्ग अझै पनि वञ्तित हँुदै आएका छन्।

तर, शौचालयजस्तो अति संवेदनशील विषयमा वञ्चित हुँदा निकै नै समस्या हुने गरेको पाइएको छ। सरकारले नागरिकतामा अन्य भनेर समावेश त गरेको छ तर शौचालयमा अझै पनि अन्य राख्न आनाकानी गरेको अभियान्ताहरू बताउँछन्।‘यस्ता लैंगिकमैत्री शौचालय नेपालमा नबनेका भने होइनन्।

विसं २०६४ सालमा नेपालगन्जलगायताका पश्चिमी क्षेत्रमा लैंगिकमैत्री शौचालय निमार्ण गरिएको थियो।तेस्रो लिंगीका समस्याका बारेमा आवाज उठाउँदै आएकी मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले भन्नुभयो– ‘यस्ता लैगिंकमैत्री शौचालयले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायप्रति लाञ्छना र भेदभाव न्यूनीकरण हुने लक्ष्य राखिएको थियो।

तर बनेका यस्ता शौचालयमा समलिंगीका लागि एउटा मात्रै कोठा छुट्याइँदा झन् समस्या बढेको छ। बरू शौचालयमा महिला र पुरुष लेख्नुभन्दा त्यसलाई हटाए उचित हुन्छ।’अहिले समाजमा यौनिक तथा लैगिंक अल्पसंख्यक व्यक्तिलाई हेपाहा दृष्टिकोणले हेरिने हुँदा पूरा समूह अधिकारबाट बञ्चित बनेको छ।

पछिल्लो समय नेपाललाई खुला दिसामुक्त देश घोषणा पनि गरिएको छ।खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो। पर्याप्तमात्रामा शौचालय नहुँदा राजधानीवासीले धैरै समस्या खेप्नुपरेको छ। तर, त्यसभन्दा पनि थर्ड जेन्डर महिला वा पुरुषले यस्तो समस्या अत्याधिक खेप्ने गरेको पाइएको छ।