हृदयाघातबाट भट्टराईको निधन राष्ट्रिय सम्मानका साथ बिदाइ

0
Shares

फिल्म निर्माता केशव भट्टराईको असामयिक निधन भएको छ।भट्टराईको ५१ वर्षको उमेरमा आइतबार राति १० बजेर २० मिनेटमा हृदयघातका कारण निधन भएको हो।

चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म व्यवसायी नरेन्द्र महर्जनका पिताको छ महिनाको मासिकमा सहभागी भई कीर्तिपुरबाट फर्केका भट्टराईको अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ओम अस्पतालत पुर्याइए पनि बाटोमै निधन भइसकेको अस्पतालले जनाएको थियो।

उनको परिवारमा श्रीमती तथा एक छोरा छन्।लामो समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी रहेका केशवलाई नियमित औषधी सेवनका बाबजुद अचानक हृदयघात भएपछि के कारणले सो समस्या आएको भन्ने जान्नका लागि परिवारको सल्लाहमा सोमबार महाराजगन्जस्थित शिक्षण अस्पताल लगी पोस्ट मार्टम गरिएको थियो।

पोस्ट मार्टमपछि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चाबहिलस्थित बोर्डको प्रांगणमा राखिएको थियो। भट्टराईसँगै शनिबार अज्ञात निधन भएका अभिनेता दीपक क्षत्रीको शव पनि पोस्टमार्टपश्चात् बोर्ड प्रागंणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।

भट्टराई र क्षत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्न कलाकर्मीहरू बिहानैदेखि शिक्षण अस्पताल पुगेका थिए भने बोर्ड प्रांगणमा हजारौं फिल्मकर्मी र शुभचिन्तक जम्मा भई उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

भट्टराई र क्षत्री दुवैको सोमबार नै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। आर्यघाटमा पनि दुई कलाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न कलाकर्मी र शुभचिन्तकको भिड लागेको थियो। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल अभिनेताद्वयप्रति श्रद्धाञ्जली व्यक्त गर्न बोर्ड प्रांगणमा पुगेका थिए।

भट्टराई र क्षत्रीको नेपाल प्रहरीद्वारा तोप पड्काएर र सलामी दिएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। भट्टराईलाई उनका १५ वर्षीय छोराले दागबत्ती दिएका थिए।

भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटा आर्यघाट पुगेका थिए। उनले भट्टराईको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइदिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै भट्टराई र क्षत्रीको निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरूको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जली। शोकाकूल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ प्रधानमन्त्री ओलीले ट्वीटरमा उल्लेख गरेका छन्।

फिल्म क्षेत्रको विकासका लागि सधैं केही गरौं भनेर लागिपर्ने केशवले ७ वर्ष सेवा अवधि बाँकी रहे पनि नेपाल विद्युत् प्राधिकरणको लेखा अधिकृत तथा नेपाल चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष पदबाट राजीनामा दिई गत चैत महिनामा बोर्ड अध्यक्षको पदभार ग्रहण गरेका थिए।

उनी भन्थे– ‘अवसर पाउँदा जागिरलाई भन्दा चलचित्र उद्योगलाई नै पहिलो प्राथमिकता दिऊँ भनेर जागिर छोडेर बोर्डमा आएको हुँ।’ फिल्म क्षेत्रका लागि विभिन्न काम गर्दैगर्दा उनी अचानक यस संसारबाट बिदा भएका हुन्। उनले बोर्डको नेतृत्व गरेपछि त्यहाँबाट नेपाली फिल्म क्षेत्रको श्रीवृद्धिका लागि केही उपलब्धिमूलक काम सम्पन्न गरेका थिए भने केही कामलाई अगाडि बढाएका थिए।

२०२५ साल मंसिर ३ गते ओखलढुंगामा जन्मेका भट्टराईले २०४७ सालमा फिल्म कोसेलीमार्फत अभिनय यात्रा शुरू गरेका थिए। शुरूमा तुलसी घिमिरे क्याम्पमा रहेर अभिनय यात्रा अगाडि बढाएका भट्टराईले पछि बाहिरका फिल्ममा समेत अभिनय गरी आफ्नो क्षमता प्रदर्शन गर्दै आएका थिए भने २०५८ सालमा आफ्नो मान्छेबाट फिल्म निर्माणमा हात हालेका थिए।

उनले तीन दशक लामो अभिनय र फिल्म निर्माणको यात्रामा कोसेली, चिनो, दुई थोपा आँसु, पुकार, दक्षिणा, रहर, बलिदान, दौंतरी, ठुल्दाइ, सुख दुःख, हामी तीन भाइ, हाँसिदेऊ एक फेरजस्ता साढे चार दर्जनको हाराहारीका फिल्ममा अभिनय गरेका थिए।

आफ्नो मान्छे, कर्मयोद्धा, पाहुना, छोडी गए पाप लाग्ला, सो सिम्पल, देवर बाबुजस्ता फिल्मका निर्माता रहेका उनले पछिल्लो समय फिल्म यात्रा ः द म्युजिकल भ्लग निर्माण गरेका थिए।