उत्कृष्ट विद्यार्थी पुरस्कृत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालका लागि पाकिस्तानी दूतावासले आयोजना गरेको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन्। युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनुवार (विश्वकर्मा) ले दुवै प्रतियोगिताका सर्वोत्कृष्ट छात्रछात्रालाई एक कार्यक्रमका बीच पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो।

‘समावेशीभन्दा प्रतिस्पर्धात्मक सहभागिता सफलताको सूत्र’ विषयक निबन्ध लेखन प्रतियोगितामा अवेक्षा डंगोलले प्रथम स्थान हासिल गरेकी छन् भने सुरेन्द्र थिङ र रोविन साहले क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गरे। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ४० र ३५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे।

निबन्ध लेखन प्रतियोगिताका उत्कृष्ट १० विद्यार्थीलाई जनही ५ हजार नगद प्रदान गरिएको दूतावासले जनाएको छ। दूतावासले हरेक वर्ष आयोजना गर्दै आएको निबन्ध लेखन प्रतियोगिता यसपटकको आठौं र वक्तृत्वकला चौथो संस्करण हो।

त्यसै गरी वक्तृत्वकलातर्फ प्रसंशा घिमिरे, गोविन्दराज जोशी, कञ्चन पौडेल र आशिष दाहालले प्रथम, द्वितीय, तृतीय र सान्तवना पुरस्कार पाएका छन्। सो विधातर्फ प्रथम हुनेले ५० हजार, द्वितीयले ४०, तृतीयले ३५ र सान्तवना स्थान प्राप्त गर्नेले २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन्।

‘रेशम मार्ग ः विगत, वर्तमान र भविष्य’ विषयक वक्तृत्वकलाका अन्य १२ उत्कृष्ट विद्यार्थीले पनि जनही ५ हजार रुपियाँ पुरस्कार पाए। मुलुकभरका एक हजारभन्दा बढी विद्यार्थीबाट उत्कृष्ट विद्यार्थी छनोट गरिएको र दुवै प्रतिस्पर्धामा कक्षा १२ देखि विश्वविद्यालय तहका छात्रछात्रा सहभागी भएका दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै खेलकुदमन्त्री विश्वकर्माले यस्ता प्रतियोगिताबाट दुवै मुलुकको सम्बन्धलाई नजिक्याउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी नेपालका लागि पाकिस्तानी राजदूत डा. मजार जावेदले दुवै मुलुकको सम्बन्ध र राष्ट्र निर्माणमा युवाको भूमिकाकाबारे चर्चा गर्नुभयो।