मानव बेचबिखनको नयाँ रूप : अस्पतालको कागज बनाएर नाका ‘पार’

0
Shares

नेपाल समाचारपत्र, बाँके।

नेपालका सबैजसो नाकामा नेपाल प्रहरी, मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था या पारीको भारतीय सुरक्षाकर्मीले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालिकाको निगरानी गर्ने गर्दछ। नाकामा नेपाल तथा भारतीय अधिकारीहरु मानव बेचबिखनविरुद्ध ‘एलर्ट’ छन्।त्यसका बाबजुद महिला तथा बालिका जोखिमपूर्ण यात्रामा जाने क्रम रोकिएको छैन।

दलालले कुनै न कुनै उपाय निकालेर महिला तथा बालिकालाई नाका पार गराइरहेको छ। नाकामा कडाई भएपछि पछिल्लो दिनमा दलालले महिला तथा बालिकालाई भारतीय अस्पतालको ‘कागज’ तयार गरी बिरामीको बहानामा नाका पार गराएको पाइएको छ।

शक्ति समूहका तालिम संयोजक एवं कानूनी सल्लाहकार दिलिप कोइरालाले नाकामा कडाई भएपछि बिरामीको बहाना बनाएर भारत लैजाने गरिएको बताउनुभयो।

‘बैदेशिक रोजगारमा जाने या भारतमै जोखिमपूर्ण काममा लगाउन दलालले भारतीय अस्पतालको कागज बनाएर नाका पार गराउने गरेको पाइएको छ, कोइरालाले भन्नुभयो, चेकजाँचको पालो परेको कागज देखाउँदै नाका पार गराउन थालिएको छ।’
नेपालगन्ज नाकाबाट भारतीय अस्पतालमा जानेको संख्या अधिक रहेको छ।

कोइरालाले भनेजस्तो यो नाकामा फेला परेको छैन। तर, सचेत हुन भने जरुरी देखिएको छ। शक्ति समूहले आयोजना गरेको ‘इन्डो–नेपाल स्टेकहोल्डर्स मिटिङ’मा कञ्चनजंगा उद्धार केन्द्र, दार्जिलिङका प्रभात पाठकले दलालको अझ नयाँ प्रयोग–नीति सुनाउनुभयो। उहाँले दलालले परिवारकै सदस्य भनेर नेपाली चेलीलाई एउटै घरमा राख्ने र अनलाइनबाट ग्राहक बोलाएर धन्दा गराउने गरेको जानकारी दिनुभयो।

‘बाहिरबाट हेर्दा घरकै सदस्यजस्तो देखिन्छ। घर नै भाडामा लिएर दलालले उसलाई धन्दामा लगाएको हुन्छ, पाठकले भन्नुभयो, हालै सिक्किमबाट एकजनाको उद्धार गर्दा त्यस्तो रहस्य खुलेको हो।’ उहाँका अनुसार, अनलाइनबाट बुक भएर आउने मानिसले रातभरी खानपिन गरेर त्यही रात बिताएर जाने गर्दछन्।

बाहिर कसैले को हो भनेमा उसले आफ्नो मान्छे भेट्न आएको बताउँछ। दुई वर्षजति एक ठाउँमा बसेपछि दलालले घर सर्ने गर्दछ।
बेचबिखनमा परेकालाई उद्धार गर्न र नेपाल फिर्ता ल्याउन अत्यन्त गाह्रो हुने गर्दछ। सरकारी संयन्त्र नभएकाले यस्तो भइरहेको छ।

दलाललाई कारबाही गराउन त अझ धेरै चुनौती रहेको छ। पीडितले नै अन्तिममा बयान फेरिदिने भएकाले दलाल सजिलै उम्किने गरेको पाइन्छ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले ९५ प्रतिशत दलाल कारबाहीबाट बचिरहेको बताउनुभयो।

‘शुरूमा पीडितले उजुरी दिन्छन्। प्रहरीले बल्ल–बल्ल समातेर अदालतमा उपस्थित गराउँछ। अन्तिममा पीडितले बयान फेरिदिन्छन्, डीएसपी सिंहले भन्नुभयो, जति कडाइका साथ मिसिल लगेपनि पीडितले बयान फेरिदिँदा दलाल छुटिहाल्छ।’

जिप्रकामा चालु आर्थिक वर्षमा मानव बेचबिखनका ५ वटा मुद्दा परेको छ। पाँच जना पक्राउ परेका छन्। गतवर्ष २५ वटा मुद्दा थिए। त्यसमा ४३ जना पीडित थिए। ३४ जनालाई पक्राउ गरिएको थियो।

अघिल्लो वर्ष १८ वटा मुद्दामा २८ जना पीडित थिए। २९ जनालाई पक्राउ गरिएको थियो। डीएसपी सिंहका अनुसार, पक्राउ परेका दलालहरु अधिकांश भरिया छन्।