विशेष सेवा गठनप्रति कांग्रेसको आपत्ति

0
Shares

काठमाडौं, (नेस)।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाल सरकारले हालै संघीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा आपत्ति जनाएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार एक विज्ञप्ति जारी गरी संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी ल्याइएको यो विधेयक कांग्रेसलाई मान्य नहुने बताउनुभएको हो।

‘नेपालको संविधान प्रतिकूल ऐन बनाउने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य छैन’, प्रमुख सचेतक खाँणले भन्नुभएको छ– ‘यो विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हकलगायतको मौलिक हकको प्रतिकूल भएको हुँदा विधेयकलाई तत्काल फिर्ता गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ।’

साथै उहाँले विज्ञप्तिमा संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता र हितविपरीत हुने खालका यस्ता विधेयकहरु प्रस्तुत नगर्न सरकारलाई सचेतसमेत गराउनुभएको छ।