टुँडिखेलको अस्तित्व जोगाउनुपर्नेमा जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएकाले यदि उहाँ टुँडिखेलको संरक्षण र निर्माणमा सहमत हुनुहुन्छ भने मन्त्रिपरिषद्बाट निर्णय गराएर टुँडिखेलको अस्तित्व जोगाउनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले सोमबार अकुपाई टँुडिखेल अभियानका अभियन्ताको प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट्दै यस विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गरोस् भन्ने आग्रह गर्नुभयो।

टुँडिखेललाई हरियो चौरको रूपमा मात्र नभई साँस्कृतिक सम्पदाको रूपमा विकास गर्नुपर्ने भन्दै थापाले रंगशालादेखि रानीपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

काठमाडौं शहरको स्वच्छता कायम राख्न आपत्कालीन विपद्का समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रमहरु गर्न टुँडिखेल उपयोगी हुने चर्चा गर्दै थापाले विगतमा ज–जसको जे–जस्तो कमीकमजोरी भएको भए तापनि त्यसलाई विर्सेर टुँडिखेल जोगाउँदै संरक्षणको निमित्त सबै एकजुट हुनुपर्ने बताउनुभयो।

सो अवसरमा टुँुडिखेल इतिहाससँग गासिएको विषय भएको भन्दै थापाले टँुडिखेल खुम्चिदै अस्तित्व लोपको अवस्थामा पुगेकोमा चिन्ता प्रकट गर्नुभयो।

‘म आफैं पनि नीति निर्माणको तहमा काम गरेको छु त्यस बखत यस विषयमा ठोस र प्रभावकारी काम गर्न नसकेकोमा/नभएकोमा एक प्रकारको गिल्टी फिल हुन्छ’ –थापाले भन्नुभयो।

‘म टुँुडिखेल चौरमा खेलेर, बढेर, हुर्केको व्यक्ति हुँ, म राष्ट्रिय फुटबल टिमको क्याप्टेन पनि भएँ, तर फुटबलको प्रारम्भिक ज्ञान त्यही टँुडिखेलमा लिएको हुँ’ –थापाले थप्नुभयो।

अकुपाई टुँडिखेलको नामबाट टुँडिखेलको संरक्षण र सम्बद्र्धनमा भएको प्रयास प्रशंसनीय भएको भन्दै थापाले राप्रपा र आफ्नो व्यक्तिगततर्फबाट पूर्ण ऐक्यबद्धता रहेको भन्दै अभियानको सफलताको कामनासमेत गर्नुभयो।

विजय श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेललगायतको सहभागिता रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो।