कविकुञ्ज बन्ने भो सङ्ग्रहालय

0
Shares

यदुप्रसाद भट्ट, काठमाडौं।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिवारको हकभोगमा रहेको १२ आना १ दाम जग्गा नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा हस्तान्तरण भएको छ। सो जग्गा हस्तान्तरण भएसँगै देवकोटाको आवासलाई सङ्ग्रहालय बनाइने भएको छ।

देवकोटा परिवारको हकभोगमा रहेको मैतीदेवीस्थित कविकुञ्ज र त्यसले चर्चेको जग्गा हकवाला देवकोटा परिवारलाई उचित मुआब्जा दिई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण गर्न लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले ११०औं देवकोटा जयन्तीमा सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएको थियो। सोहीअनुरूप प्रज्ञा प्रतिष्ठानले काम गर्न प्रक्रिया अघि बढाएको थियो।

सो आवासकुञ्जको हक हस्तान्तरणबापत देवकोटाका छोराहरु प्राडा. पद्मप्रसाद र डा. दीपक देवकोटालाई सरकारबाट २ करोड ५० लाख प्राप्त भएको थियो। सोहीअनुरूप हिजो आइतबार देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमाल र कान्छी बुहारी लीला देवकोटाको रोहवरमा पद्मप्रसाद र दीपकलाई मुआब्जास्वरूप २ करोड ५० लाख रुपियाँ उपलब्ध गराइएको थियो।

देवकोटाका पुत्रद्वयले सो जग्गा कानुनीरूपमै चारखाल डिल्लीबजारबाट प्रज्ञा प्रतिष्ठानको नाममा जग्गा हस्तान्तरण गर्नुभएको प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो।

कुलपति उप्रेतीले कविकुञ्ज र त्यसले चर्चेको जग्गामा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गराई निर्माण प्रक्रिया अघि बढाइने जानकारी गराउनुभयो। करिब ५ करोड रुपियाँमा सङ्ग्रहालय बनाइने भएको छ।

प्रधानमन्त्रीको घोषणापछि मन्त्रिपरिषद्को कार्यालयले आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो।

देवकोटाको सङ्ग्रहालय बन्ने भएपछि अब सबै काम सोही सङ्ग्रहालयबाट हुने भएको छ। कार्यक्रममा कुलपतिले प्रधानमन्त्रीले देखाउनुभएको सद्भाव, उत्प्रेरणापूर्ण चासो र सहयोगका लागि आभार व्यक्त गर्नुभएको छ।