नेकपा बैठक पार्टी र सरकारको नेतृत्वलाई आलोचना गर्दै सकियो


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समितिको धुम्बाहारीमा जारी बैठकमा सरकारको भूमिका कमजोर भएको भन्दै पार्टी र सरकारको नेतृत्वको आलोचना गरेर सकिएको छ ।

बैठकमा कमरेडहरु वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गर्नुभएको थियो ।

लामो समयमा बैठक नराखेकोदेखि सरकारले जनहीतमा काम गर्न नसकेको, सचिवालय समावेशी नभएको विषयमा समेत बैठकमा कुरा उठेको थियो। बैठकमा महिला नेतृहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सचिवालयलाई समावेशी बनाउनु पर्ने माग गरेका थिए। दुवै नेतृले सचिवालयलाई १५ सदस्य बनाएर त्यसमा महिलाको पनि प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे।

उनीहरुले स्थायी समितिको एक तिहाईको संख्याको सचिवालयका बनाउनु पर्ने माग गरेका थिए। अहिले स्थायी समिति ४५ सदस्यीय रहेको छ सचिवालयमा ९ सस्यीय मात्रै रहेको छ। ‘उहाँहरुले सचिवालयमा एक तिहाइ सदस्य बनाउनु पर्ने माग गर्नु भएको छ,’ स्थायी समितिका सदस्य गणेश साहले भने, ‘समितिलाई समावेशी बनाउनु पर्ने विषय उठाउनु भएको छ।’

बैठकमा सदस्यहरुले एक वर्षसम्म स्थायी कमिटीको बैठक नराखेको भन्दै नेतृत्वको आलोचना गरेका थिए। बैठक नराखेको विषयमा नेतृत्वले आत्मआलोचना गरेर मात्रै नपुग्ने नेताहरुले बताए। युवराज ज्ञवालीले आत्मआलोचना गरेर मात्रै नपुग्ने र विधानले तोकेअनुसार बैठक राखेर मात्रै नेतृत्वले माफी पाउने बताए।

‘एक वर्ष बैठक नबस्दा धेरै क्षति भयो। त्यस जिम्मेवारी कसले लिने होरु शक्ति सन्तुलनमा विषयमा समेत प्रतिवेदन गोलगोटल रुपमा आएको छ,’ बैठकमा राखेको धारणा उद्धृत गर्दै साहले भने, ‘सरकारले ठूलो कुरा गरेर मात्रै भएन। ठेकेदारलाई त्यसले प्रत्यक्ष लाभ होला तर जनताको विषयमा ध्यान दिनुपर्छ।’

नेता भीम रावलले परराष्ट्र मामिलामा सरकार चुक्दै गएको बताएका थिए। रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी०मा अमेरिकाका इन्डो प्यासेफिक कै अंग भएको भन्ने अमेरिकी अधिकारीहरुको भनाइलाई उद्धृत गदै सरकार फसेको बताएका थिए। ‘कुनै पनि सैनिक गठबन्धनमा सहभागी हुने भन्ने विषयमा हामी किन चुक्यौं,’ रावलले बैठकमा बताए। बैठकमा रावलले उपाध्यक्ष थप्नुको औचित्य के हो भन्ने प्रश्न समेत गरेका थिए।

एमसिसीको बारेमा रावलको जस्तै धारणा देव गुरुङको पनि रहेको थियो। उनले एमसिसीले नेपालको संविधानले तय गरेको विदेश नीतिलाई उल्लंघन गर्ने बताए।
नेकपा स्थायी समितिको अर्को बैठक पुस १ गते बिहान ११ बजे पार्टी कार्यलय धुम्बाराहीमा बस्ने गरि स्थगित भएको छ ।