दुई उत्कृष्ट कृतिको विमोचन


शिक्षा पन्त, लमजुङ ।

लमजुङमा दुई उत्कृष्ट कृतिको विमोचन गरिएको छ । कविवर डिल्लीजङ गुरुङद्वारा लिखित सात कृतिको संगालो समुच्चयन– भाग २ र ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्रकाशन गरेको स्मारिका– २०७६ को विमोचन गरिएको हो ।

लमजुङमा साहित्यको उषाकालीन अवधिमा उदाएका कविवर डिल्लीजङ गुरुङका ७ कृतिहरूको श्री रामसीता, चित्तबोध, श्रीमद्भागवत गीता, पुष्पाञ्जली– भाग १ र २, योगवाशिष्ट सार र विदुर नीतिको संयुक्त संग्रहका रूपमा समुच्चयन– भाग २ प्रकाशन गरिएको छ । कविवर डिल्लीजङ गुरुङको ११६औं जयन्तीका अवसरमा उक्त कृतिको विमोचन गरिएको हो ।

कविवर डिल्लीजङ गुरुङको जन्म र कर्मथलो रहेको घनपोखरा बेसीमा उहाँकै परिवारद्वारा जग्गा प्रदान गरी निर्माण कार्यको अन्तिम चरणमा पुगेको सभाहलमा आयोजित कार्यक्रमका उक्त कृतिको विमोचन गरिएको हो । प्राध्यापक एवम् वरिष्ठ साहित्यकार रामकुमार पाण्डेले समुच्चयन– भाग २ को विमोचन गर्नुभएको हो ।

२९४ पृष्ठको समुच्चयन भाग २ मा त्रिवि पदमकन्या क्याम्पसका उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले भूमिका लेखिसक्नु भएको छ । ज्ञवालीले १२ पेजको भूमिकामा कविवर डिल्लीजङ गुरुङको साहित्यिक योगदानका अतिरिक्त ती सात वटै कृतिको विशेषता झल्काउने प्रयास गर्नुुभएको छ । त्यसैगरी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङको शुभकामनाका साथमा कविवर डिल्लीजङ गुरुङका कान्छा सुपुत्र मेजर गोपालबहादुर गुरुङले आफ्नो प्रकाशकीय मन्तव्य उक्त कृतिमा समावेश छ ।

कृतिको विमोचन समारोहका वक्ताहरूले कविवर डिल्लीजङ गुरुङलाई महाकविको संज्ञा दिनुभएको थियो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कविवर डिल्लीजङ गुरुङ जस्ता राष्ट्रिय विभूतिका लागि गाउँपालिका समन्वयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यसैगरी, ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्रकाशन गरेको स्मारिका– २०७६ पनि सोही समारोहमा विमोचन गरिएको हो ।