बर्दियाको तीन पालिकामा होटल स्तरीकरण सम्पन्न


विष्णु तिमिल्सिना, बर्दिया ।

बर्दिया जिल्लाका गुलरिया, मधुवन र बाँसगढी नगरपालिकामा खाद्य स्वच्छता, सरसफाई सम्बन्धि होटल, रेष्टुरेन्ट, भोजनालय र रिर्सोटहरुको अनुगमन, मुल्याङ्कन र स्तरीकरण गरी लोगो वितरण कार्य सम्पन्न भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले खाद्य स्वच्छता होटल अनुगमनमा सहजीकरण समुह सहित सो कार्यालयका अनुगमन टोलिले गुलरिया नगरपालिकाको गुलरिया बजार, मधुवन नगरपालिकाको कुसुम्बा बजार र बाँगढी नगरपालिकाको बाँसगढी बजारमा होटल, रेष्टुरेन्ट तथा रिर्सोटहरुको हालै अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका खाद्य अनुसन्धान अधिकृत विवेक सुवेदी र खाद्य निरिक्षक नेत्रा बोगटी र होटल अनुगमन सहजीकरण समुहका तर्फ बाट उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, लिलाधर पौडेल, उद्योग बाणिज्य संघ तथा होटल अर्गनाईजेसनका प्रतिनीधिहरु, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

अनुगमन स्तरीकरण अनुसार वर्गीकरण हुँदा गुलरिया वडा नं. ७ अन्तरगत रहेको कृष्णसार रिर्साेट उत्तम श्रेणीको वर्गीकरणमा परी २ तारा अंकित हरियो स्टिकरको लोगो प्राप्त गर्न सफल भएको छ । साथै गुलरिया बजार स्थित लोटस गार्डेन रिर्साेट र विजया गेष्ट हाउस, कुसुम्बा बजारमा संचालित साईनो रेष्टुरेन्ट र बाँसगढी बजारमा संचालित होटल ईन्र्देणी सन्तोषजनकमा वर्गीकरण भई १ तारा अंकित हरियो स्टिकरको लोगो प्राप्त गरेका छन ।

त्यसै गरी स्तरीकरणमा गुलरियामा सञ्चालित अर्घाखाँची होटल, होटल न्यु मिरर, आर्यन्स होटल, पोख्रेल होटल एण्ड लज, बबई कटेज, मंगोलियन फास्टफुड, होटल न्यु मंगोलियन, कुसुम्बा बजारमा संचालित तारा होटल, होटल सनराईज, एकान्त कटेज बाँसगढी बजारमा संचालित होटल अथिति, न्यू स्विट हाउस एण्ड फास्टफुड, मुनलाइट रेस्टुरेन्ट, माछापुच्छ्रे होटल एण्ड लज र मिट पोईन्ट खाजा घर सामान्य स्तरमा वर्गीकरण भएर पहेंलो रङ अंकित स्टिकरको लागो पाएका छन ।

स्तरीकरणमा ५० अंक भन्दा कम अंक प्राप्त गर्ने होटल, रेष्टुरेन्टहरुलाई वर्गीकरणमा नराखिएको र उक्त मापदण्ड पुरा गर्न सक्ने व्यवसायिक प्रतिष्ठानले कार्यालयमा निवेदन दिई वर्गीकरण गराउन सक्ने तथा हाल स्तरीकरण गर्दा देखिएको अवस्थामा आफुले सुधार ल्याएमा स्तरोन्नती गर्न सकिने कुरा खाद्य अनुसन्धान अधिकृत विवेक सुवेदीले बताउनु भयो ।

साथै अनुगमनको क्रममा होटल तथा रेष्टुरेन्टहरुले फ्रिजको प्रयोग गर्दा खाद्य बस्तुको उपयुक्त माप दण्ड अनुसार नराखिएको, सरसफाईमा ध्यान नदिएको, भान्सामा काम गर्ने कामदारहरुले ड्रेस तथा टोपीको प्रयोग नगरेको, अनावश्यक रंगहरुको प्रयोग गरिएको, एक पटक राखिएको तेल पटक पटक प्रयोग भएको जस्ता कुरा पाईएकोले सुधार ल्याउन को लागि सुझाव दिईएको सुवेदीले जानकारी गराउनु भयो ।