टुँडिखेलको संरक्षण र निर्माणमा मन्त्रीपरिषदले निर्णय गर्नु पर्छः कमल थापा


न्युज अफ नेपाल, काठमाण्डौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएकाले यदि उहाँ टुँडिखेलको संरक्षण र निर्माणमा सहमत हुनुहुन्छ भने मन्त्रिपरिषदबाट निर्णय गराएर टुँडिखेलको अस्तित्व जोगाउनु पर्नेमा जोड दिएका छन् ।

आज अकुपाई टुँडिखेल अभियानका अभियन्ताहरुको एक प्रतितिनिधि मण्डललाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट्दै यस बिषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गरोस् भन्ने आग्रह गरे ।

टुँडिखेललाई हरियो चौरको रुपमा मात्र नभई साँस्कृतिक सम्पदाको रुपमा विकास गर्नु पर्ने भन्दै थापाले रंगशालादेखि रानिपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नु पर्ने आवश्यकता औल्याए ।

काठमाण्डौ शहरको स्वच्छता कायम राख्न आपतकालीन विपदका समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रमहरु गर्न टुँडिखेल उपयोगी हुने चर्चा गर्दै थापाले विगतमा ज–जस्को जे–जस्तो कमी कमजोरी भएको भएतापनि त्यसलाई विर्सेर टुँडिखेल जोगाउँदै संरक्षणको निमित्त सवै एकजुट हुनुपर्ने बताए ।

सो अवसरमा टुँडिखेल इतिहाससँग गासिएको बिषय भएको भन्दै थापाले टुँडिखेल खुम्चिदै अस्तित्व लोपको अवस्थामा पुगेकोमा चिन्ता प्रकट गरे । “म आफै पनि नीति निर्माणको तहमा काम गरेको छु त्यस बखत यस बिषयमा ठोस र प्रभावकारी काम गर्न नसकेकोमा/नभएकोमा एक प्रकारको गिल्टि फिल हुन्छ” थापाले भने ।

“म टुँडिखेल चौरमा खेलेर, बढेर, हुर्केको व्यक्ति हुँ, म राष्ट्रिय फुटवल टिमको क्याप्टेन पनि भए, तर फुटबलको प्रारम्भिक ज्ञान त्यहि टुँडिखेलमा लिएको हुँ” थापाले थपे ।

अकुपाई टुँडिखेलको नामबाट टुडिखेलको संरक्षण र सम्बद्र्धनमा भएको प्रयास प्रशंसनीय भएको भन्दै थापाले राप्रपा र आफ्नो व्यक्तिगत तर्फबाट पूर्ण ऐक्यवद्धता रहेको भन्दै अभियानको सफलताको कामना समेत गरे ।

बिजय श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा राप्रपाका बरिष्ठ नेता दिपक बोहोरा, महामन्त्री एवं साँसद राजेन्द्र लिङदेन, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल लगायतको सहभागिता रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।