सवारी दुर्घटना बढेपछि प्रादेशिक समिति


न्युव अफ नेपाल, हेटौंडा ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटना बढेको भन्दै सरोकारवालासँग छलफल गर्नुभएको छ । दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि मुख्यमन्त्री पौडेलले सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।

छलफलमा सवारी दुर्घटना न्यूनीकरण र व्यबस्थापन चुस्त बनाउन ५ सदस्यीय समिति गठन गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका यातायात व्यबस्था निर्देशक सहदेव भण्डारीको संयोजकत्वमा हेटौंडा उपमहानगर, प्रहरी कार्यालय, यातायात कार्यालयका प्रतिनिधि रहने गरी समिति निर्माण गरिएको हो ।

समितिलाई सात दिनभित्र लागु गर्न सकिने प्रतिवेदन तयार गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।

कार्यक्रममा दुर्घटना तथा सवारी दुर्घटनामा तीनपांग्र्रे सवारी तथा पार्किङ व्यबस्थापन, पुराना सवारीसाधन व्यबस्थापन, रुट परमिटलगायत अन्य विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा उहाँले दुर्घटना न्यूनीकरणका लागि अधिकतम् प्रयास गर्न निर्देशन दिनुभयो । सवारी दुर्घटना न्यूनीकरण गर्न सबै निकायको प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सवारी दुर्घटनाका कारण खोजेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य दीपक निरौला सवारीसाधन दुर्घटनामा धेरै कारक हुने भएकोले यसलाई सुधार गर्दै अगाडि बढिने बताउनुभयो । हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले नगरमा पार्किङ व्यबस्थापनका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव मधुसूदन बुर्लाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रमुख डीआईजी शेरबहादुर बस्नेत, प्रदेश ट्राफिक प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, यातायात पूर्वाधार कार्यालय प्रमुख धु्रुव फुयाँललगायत सहभागी हुनुहुनथ्यो ।

प्रदेशमा यस महिनामा हालसम्म ५६ जनाको मृत्यु भएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सबभन्दा बढी चितवनमा र क्रमशः सिन्धुपाल्चोक, धादिङ र मकवानपुरमा बढी सवारी दुर्घटना भएका छन् ।