नक्कली लाइसेन्सधारी धमाधम पक्रिँदै


न्युज अफ नेपाल, हेटौंडा ।

नेपालका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बितरणमा ढिलाइ र कडाइ गरिएसँगै नक्कली लाइसेन्स प्रयोग गरी प्रहरीलाई झुक्याएर सवारी चलाइँदै आएको पाइएको छ ।

अवैध तरिकाले मोटरसाइकल चलाइँदै आएको र चोरीको क्रम बढेपछि हेटांैडामा प्रहरीले गरेको छड्के चेकिङका क्रममा चालकले प्रहरीसमक्ष पेश गरेका लाइसेन्स परीक्षण गर्दा ती नक्कली फेला परेका हुन् ।
प्रहरी नियन्त्रणमा रहेका चालकले प्रयोग गरेका लाइसेन्स परीक्षण गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्बन्धित निकायमा पत्र लेखेको थियो ।

हेटौंडा–१, चौकीटोलमा आइतबार साँझ करिब साढे ६ बजे प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले चेक गर्ने क्रममा ना.४ च ७५१८ नम्बर पिकअप चेक गर्दा हेटौंडा–४ बस्ने सबिन गुरुङ नाम बताउनेबाट उनको सवारीचालक अनुमतिपत्र माग गर्दा उनले यातायात कार्यालय कोशीबाट जारी भएको मनोज तामाङ उल्लिखित सवारीचालक अनुमतिपत्र पेश गरे ।

उनको उक्त अनुमतिपत्रमा सबिन गुरुङ नाम बताउने र उनकै फोटो टाँस भएको देखिन आएकोले उनलाई नियन्त्रणमा लिएर लिखत कीर्ते मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेटांैडा–२ स्थित कान्तिराजपथ सडकखण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा ना. ६३ प २०१२ नम्बर स्कुटरलाई चेक गर्दा स्कुटरचालक जिल्ला रौतहटको विजयपुर नगरपालिका–९ बस्ने वर्ष २६ का रोमियो कालीकोटेसँग सवारीचालक अनुमतिपत्र मागी चेक गर्दा नक्कली प्रमाणित भएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

मकवानपुर प्रहरीले हराएको र चोरी भएका मोटरसाइकल र स्कुटर खोजी कार्यमा सक्रियता देखाएको छ । यसैक्रममा विभिन्न समयमा हराएका र चोरी भएका ५ मोटरसाइकल र स्कुटर फेला परेको छ ।

वडा प्रहरी कार्यालय हेटौंडा टोलीले चेकका क्रममा र खोजी कार्य गर्दा हेटौंडाका विभिन्न वडाबाट ५ वटा मोटरसाइकल र स्कुटर फेला पारेको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय हेटौंडाले भदौ २५ गते नियमित चेकका क्रममा हेटौंडा–५, क्याम्पाडाँडाबाट बा. २७ प २५७२ नम्बर कागजपत्र नभएको अबस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मंसिर १० गते हेटौंडा–४, पारिजातपथबाट वेबारिस अबस्थामा बा. ३६ प ६८५३ नम्बर डिओ स्कुटर फेला पारेको थियो ।

मंसिर ११ गते नियमित चेकका क्रममा हेटौंडा–५, सानोपोखराबाट कागजपत्र नभएको ग. ९ प ४२६८ नम्बर ड्युक मोटरसाइकल नियन्त्रणमा लिइएको र मंसिर २४ गते मक्राञ्चुली जाने बाटो हेटौंडा–५, पिप्लेकुनामा बेबारिसे अबस्थामा ना. २ प ६८८९ नम्बर मोटरसाइकल फेला परेको थियो ।

मंसिर २५ गते कागजपत्र नभएको अबस्थामा बा. २७ प २५७२ नम्बर पल्सर मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

‘यातायात व्यबस्था कार्यालयसँग सम्बन्धित मोटरसाइकल र स्कुटरको विवरण माग गरेका छौं, त्यसको विवरण आएपछि सम्बन्धित मोटरसाइकल र स्कुटरधनीलाई खबर गरेर हस्तान्तरण गर्नेछौं,’ प्रहरी निरीक्षक भण्डारीले भन्नुभयो ।