प्रमुख विष्णुकुमार गिरी
गौमुखी गाउँपालिका
प्युठानका नौ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी भागमा गौमुखी गाउँपालिका रहेको छ। जिल्लाको दुर्गम क्षेत्रको अधिकांश भाग यो गाउँपालिकाभित्र रहेको छ। बाग्दुला–भिमगिठे सडक निर्माण नहुँदासम्म यहाँ सहज यातायात पुग्न सकिरहेको छैन। महाभारत शृंखलामा फैलिएका यहाँका पहाडी भिरालो बस्ती जडिबुटी तथा फलफूल खेतीका लागि उपयुक्त भएपनि अहिलेसम्म व्यवसायिक रूपमा जडिबुटी तथा फलफूल खेती हुन सकिरहेको छैन। वैदेशिक रोजगारबाट आएको विप्रेषण र निर्वाहमूखी कृषि पशुपालनबाट आएको रकमबाट यहाँका बासिन्दाको दैनिक जीवन निर्वाह भइरहेको देखिन्छ। अन्य स्थानीय तह जस्तै यस गाउँपालिकमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासदेखि कृषि र पशुपालनको व्यवसायिक विकास हुन सकिरहेको छैन। यसै परिवेशलाई लिएर गौमुखी गाउँपालिकाका प्रमुख विष्णुकुमार गिरीसँग नेपाल समाचारपत्रका लागि प्युठान संवाददाता सलिम अन्सारीले गर्नुभएको कुराकानीको सारसंक्षेप :
राजनीतिमा कसरी लाग्नुभयो ?
अलि सानो उमेरदेखि नै म राजनीतिमा सक्रिय थिए। पुराना नेपाली कांग्रेसका नेता पद्मलाल न्यौपानेको छोरा टुकलाल न्यौपाने, बसन्त न्यौपानेसँगै पढ्नेसाथीहरू हुनुहुन्थ्यो। ५/६ कक्षा पढ्दादेखि नै मलाई अलि अलि राजनीतिक चेतना हुन थालिसकेको थियो।
त्यति बेला बहुदल आइसकेपछि कांग्रेस र कम्युनिस्टमा उतार चढाव र राजनीतिक मुद्दाहरूमा धेरै वादविवाद हुने अवस्थामा मलाई कांग्रेसको तर्कहरू मन परेपछि मलाई कांग्रेसको निकटता मन पर्न थाल्यो।
त्यसपछि मैले नेपाल विद्यार्थी संघको सदस्य भएर विद्यार्थी राजनीति शुरु गरें। २०५० सालदेखि म कुनै न कुनै पदमा बसेर निरन्तर रूपमा क्रियाशील छु।
गौमुखी गाउँपालिकाको मुहार फेर्ने आयोजनाको रूपमा अगाडि बढेको बाग्दुला–भिमगीठे सडकको निर्माण कार्य किन अहिले अगाडि बढिरहेको छैन ?
बाग्दुला–भिमगीठे सडक प्युठान जिल्लाकै विकासको मेरुदण्डको रूपमा लिन सकिन्छ। अहिले बाग्दुलादेखि भिमगिठेसम्मको झण्डै ७२ किलोमिटर बाटो निर्माण भएको खण्डमा प्युठानभर नै यसले आर्थिक तरंग पैदा गर्ने अवस्था छ।
तर अहिले हाम्रो दुर्भाग्य ठेक्का टेन्डर लागेर पनि संझौता गर्ने समयमा पुग्दा जुन ठेकदारलाई ठेक्का परेको थियो त्यो ठेकदारको फर्म बैंकमा कालो सूचीमा परेको रहेछ भन्ने खालको कुरा आएको छ। मैले बुझें अनुसार अबको दुई/चार महिना पछि नयाँ ठेकेदारमार्फत कामको शुरुवात हुन्छ।
हामीले अब दुई/चार महिनालाई धेरै समय मान्न हुन्न भन्ने लाग्छ। मलाई विज्ञ टोलीले त्यो खालको सल्लाह दिनुभएको छ। हाम्रो धेरै ठूलो ठेक्का (ग्लोबल) भएकोले ठिकै समयमा भएको हो भन्ने छ।
रद्दको प्रक्रियामा गए समय लामो लाग्न सक्छ। तर पहिलो ठेकेदारको ठाउँमा दोस्रोले काम पाएमा दुई/चार महिनामै काम शुरु हुन् सक्छ भन्ने विज्ञ साथीहरूको भनाई छ।
खरको छाना हटाउने अभियान यहाँले प्यूठानमा शुरु गर्नुभयो। त्यो अभियान निक्कै प्रभावकारी पनि देखियो। त्यो अभियान अगाडि बढाउन यहाँलाई के कुराले प्रेरित गरेको थियो ?
पहिलो कुरा हामी गरीबकालागि भनेर धेरै नारा जुलुस गरेर हिड्छांै। राजनीतिक कुरा, भाषण पनि गर्छांै। तर व्यवहारिक रूपमा ठ्याक्कै गरीबसँग पुग्ने औजारहरू के हुन् भनेर हामीले केलाउने प्रयास अलि गरेनौं कि भन्ने लाग्छ।
अझै पनि मलाई लाग्छ हामी धेरै हल्ला गरेर होइन सानो–सानो काम गरेर जो गरीबलाई छुन्छ तिनीहरूको विषयमा सामाजिक हैसियत नउठाइकन उनीहरूको आर्थिक उन्नतीको सम्भावना मैले देखेको छैन।
हाम्रा दुर्गम ठाउँमा ठूला–ठूला बाटाहरू बनाउँदैमा ठूला–ठूला पुलपुलेसाजस्ता विकास निर्माणमा देखिने कामहरू गर्दैमा मात्र सबै सम्पन्नता हुन्छ भन्ने मलाई लागेन।
आर्थिक हैसियत अलि कमजोर भएको र सामाजिक हिसाबले उनीहरूले आफूलाई जहिले पनि दमित महसुस गर्नेसँग कसरी पुग्न सकिन्छ भन्ने विषयमा मैले केही विज्ञ साथीहरूसँग पनि सल्लाह गरें। केही वडा, केही गाउँपालिकाले काम शुरुवात गरेको मैले अघिल्लो आर्थिक वर्षमा हेरेको थिए।
दोस्रो आर्थिक वर्षमा यसरी हुँदैन समग्रमा खरको छानो भएर आफूलाई सामाजिक रूपमा अपहेलित महसुस गर्ने घर परिवार छ। त्यो घरपरिवार सम्पूर्णलाई खरको छाना मुक्त गरियो भने दोस्रो वर्ष अरु काम गर्न सकिन्छ भन्ने लागेर गत वर्ष जस्ता छाना छाउने कार्यक्रममा झण्डै ५ करोड २८ लाख जति पैसा लगानी गर्यौं। जसले परिणाम राम्रै दिएको छ।
अझै प्राविधिक रूपले कतै छुटपुट भएकाहरूलाई पनि केही चाहिन सक्छ भनेर हामीले यो वर्ष ५० लाख रुपियाँ बजेट सो क्षेत्रको लागि विनियोजन गरेका छौं। यो कार्यक्रमले आफूलाई सामाजिक हैसियत कमजोर भएको अनुभूति गरिरहेकाहरूको मनोबल बढाएको छ।
अहिले नेपाल सरकारले पनि त्यो अनुदानको कार्यक्रम अलिकति बढाएर ल्याएको छ। हाम्रो पालिकामा आएको अनुदानको धेरै रकम जस्तापातामा खर्च गर्दा विकासका अन्य कामहरू त अवरुद्ध भए तर सामाजिक काम पूरा भयो जस्तो मलाई लाग्छ।
स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिकको सरकार। जनताले सबैभन्दा नजिकको सरकारबाट धेरै अपेक्षा गरेका छन् यहाँले जस्ता पाता मुक्त अभियानबाहेक अन्य गरिब लक्षित कार्यक्रमहरू के–के गर्दै हुनुहुन्छ ?
कृषि र पशुपालनको क्षेत्रमा हामीले काम अगाडि बढाएनौं भने मलाई लाग्छ गरिबको ठोसरूपमा उत्थान हुन गाह्रो छ। अहिले हाम्रो उत्पादन घट्दो अवस्थामा रहेको छ। बजारबाट गाउँसम्म सामान जान्छ तर गाउँबाट बजार आउने गाडीहरू मान्छे भरेर वा खाली खाली आउने गरेको छ।
त्यसले गर्दा हामीसँग अलि–अलि भएको पैसा पनि तल बजार आएर सामान किन्दा त्यहाँ मात्रै पैसा थन्कने अवस्था छ। गाउँको पैसा बाहिरिएको अवस्था छ। त्यसलाई गाउँमै रोक्न अथवा बढाउनकालागि हाम्रो जुन गरिबसँग रहेको पैसा रोक्न तथा बढाउनकालागि हामीले गाउँमा हुने स्थानीय उत्पादनलाई प्रोत्साहन दिन लागिरहेका छौं।
हाम्रो पालिका अझै पनि रासायनिक मल तथा विषादीको दलदलमा फसेको छैन। अग्र्यानिक खेतीकालागि राम्रो क्षेत्र हो। अहिले हामीले वडा नं. १ अर्खा, वडा नं. ४ पूजा र वडा नं. ५ खुड्म कृषि सम्बन्धी आधुनिक ढंगको यो वर्ष अध्ययन गर्दैछौ।
यो अध्ययनले विज्ञ टोलीको नजरमा हाम्रो गाउँपालिको कृषि उत्पादन कस्तो छ ? यहाँको किसानको अवस्था कस्तो छ ? यहाँको उत्पादन बाहिर कहाँसम्म पुग्न सक्छ ? यसले व्यवस्थित बजार बनाउन सक्छ कि सक्दैन भन्ने कुराको अध्ययन गर्दै छांै।
यहाँको गाउँपालिका पनि उच्च मूल्य पर्ने फलफूल खेती तथा जडिबुटी खेतीको प्रचुर सम्भावना भएको मानिन्छ। त्यस क्षेत्रमा यहाँको योजना के छ ?
हो, यहाँले भने जस्तै यहाँ बहुमूल्य फलफूल खेतीको सम्भावना देखिएको छ। दाँतेओखर, किवीखेती, अमिलोजातका फलपूmल कागती, सुन्तला, खेतीको सम्भावना देखिएको छ। किवीखेती, दाँतेओखरलगायत उच्च मूल्य पाउँने बालीका केही अगुवा कृषकले व्यवसायिक खेतीको शुरु गर्नुभएको छ।
गतवर्ष मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत हामीले केही सहयोग गर्ने कार्यक्रम अगाडि सारेका छौं। यो वर्ष किवीखेतीलाई अझ व्यवस्थित तरिकाले किवीखेतीकालागि विरुवा उपलब्ध गराउने र प्रविधिबारे क्षमता विकास गर्ने कार्यक्रम पनि अगाडि बढाउँदै छांै।
फलफूल खेती ओखर लगाउनुभयो भने त्यसको उत्पादन हुनको लागि झण्डै तीन देखि ५ वर्षको समय लाग्दो रहेछ। तर कृषकलाई अहिले भर्खरै विरुवा रोप्यो भने तीन महिना, चार महिना, बढिमा ६ महिनाभित्रमा उत्पादन चाहिएको छ।
चरम गरिबीको कारणले लामो समयपछि प्रतिफल दिने कार्यक्रमहरूमा हामी अझै योजना गर्न सकिरहेका छैनौं। त्यसमा सम्बन्धी वन, कृषिलगायतका निकायहरूसँग बसेर त्यो विषयमा सरसल्लाह गर्ने तयारीमा छौं।
परम्परागत कृषि पेशा अहिले व्यवसायिक हुन सकिरहेको छैन। गाउँबाट दिनानुदिन युवाहरू पलायन भईरहेका छन। कृषिलाई व्यवसायिकरण गर्दै युवालाई सो क्षेत्रमा आकर्षित गर्ने केही योजना बनाउनुभएको छ ?
एउटा युवालाई मासिक १५ देखि २० हजार रुपियाँ घरमा उपलब्ध हुन सकेन भने त्यो युवाले कसरी आप्mनो व्यवहार चलाउँछ ? यो विषय अलिकति जटिल किसिमको छ। अहिले सबै स्थानीय तहमा चुनौतिको रूपमा रहेको छ। हरेक ठाउँमा पैसा चाहिने भएको कारण पैसा आर्जन हुने क्रियाकलाप गाउँमा उपलब्ध हुन नसकेसम्म यो रोकिदैन।
पकेट क्षेत्रको रूपमा हामीले अहिले तीन वटा वडाबाट व्यवसायिक खेती शुरु गर्दैछौं। बाँझोभएका जग्गालाई पनि हामीले त्यही अनुसारको फलपूmल जस्तै कागती होला, सुन्तला होला, दाँतेओखर होला। अलि माथिल्लो भूभागतिर चिराइँतो लगायत धेरै महत्वपूर्ण जडिबुटीहरू छन्।
शिक्षा क्षेत्रको विकासकालागि गौमुखी गाउँपालिकाले के कस्ता काम गरिरहेको छ ?
सामुदायिक विद्यालयको स्तर माथि उठाउनकालागि हामीले भौतिक पूर्वाधारतिर पनि जोड दिइराखेका छौं। भवन निर्माण कक्षा कोठा मर्मत सम्भार, भुई पलाष्टरदेखि लिएर डेस्क–बेञ्च बनाउने काम भइराखेको छ।
हामीकहाँ अर्को टड्कारो समस्या भनेको शिक्षकको दरवन्दी अनुसार शिक्षक नभएपछि नीजि स्रोतबाट शिक्षक राखिएको थियो ती नीजि स्रोतका शिक्षकलाई अनुदानको व्यवस्था गरेर तलब सोझै विद्यालयलाई उपलव्ध गराएका छौं।
विद्यालयले शिक्षकको व्यवस्थापन गरेर तलब खुवाउन पुग्ने ढंगको प्रवन्ध मिलाएका छौं। ४५ विद्यालयका करिब ६० जना शिक्षकले पीसीएफ अनुदान पाइराखेका छन्। यसको साथै शिक्षकको क्षमता विकासकालागि तालिमको प्रवन्ध गरी राखेका छौं। समग्र रूपमा शिक्षाको गुणस्तर माथि उठाउन यस क्षेत्रको पनि हामी अध्ययन गर्दैछौ।
अहिले प्राविधिक शिक्षाको कुरा पनि उठिराखेको छ। गाउँपालिकाभित्र कस्ता प्राविधिक विद्यालय बनाउने सोंच बनाउनुभएको छ ?
प्राविधिक शिक्षा अन्तर्गत कृषि विषयको पढाइ गौमुखी मावि ठुलावेंसीमा शुरु भएको छ। शुरुवाती चरणमा विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको छ। त्यसलाई हेरी नमुना विद्यालयको रूपमा विकास गर्ने र थप अरु विषयका विषयगत विद्यालय अरु पनि थप्नु पर्छ कि भन्ने लागेको छ। अग्लुङ्फेदी बजारमा एउटा महायज्ञ लागेको थियो।
त्यो गुल्मीमा रहेपनि त्यो प्युठानको गौमुखी गाउँपालिकाको बीच भागमै पर्दछ। त्यहाँ पनि नयाँ प्राविधिक विषयको पढाई शुरुवात गर्ने कि भन्ने योजनामा उहाँहरू हुनुहुन्छ। उहाँहरूसँग पनि हामीले साझेदारी गरेर कुन–कुन विषयहरूलाई हामीले यहाँ व्यवसायिक विद्यालयहरू बनाउने। व्यवसायिक शिक्षाको कक्षा दिने ढंगले लैजाने भन्ने सोंच बनाएका छौं।
अलि गहिरिएर लाग्न बाँकी नै छ यो विषयमा। कृषिविज्ञ टोलीको अध्ययनले प्राविधिक प्रतिवेदन दियो भने त्यो आधारमा हामी विशेष गरी कृषि र पशुपालनको क्षेत्रमा व्यवस्थित तरिकाले अगाडि बढ्ने सोच बनाएका छौं।
कृषिपेशा नै राम्रोसँग गर्ने ढंगले यो पढाई अगाडि बढ्यो भने यसले उत्पादनलाई टेवा दिन्छ भन्ने मलाइ लाग्छ। कृषि पढेर जागिर हुन्छ भन्ने ग्यारेण्टी हुँदैन। त्यो व्यवसायीक कृषक बन्न सक्छ।
यहाँको पदावधी करिव आधा समय बितिसकेको छ। बाँकी समयलाई आधार बनाएर गाउँपालिका यस्तो बनाउँछु भन्ने केही यहाँको केही सपना छ कि ?
गाउँपालिकावासीको आर्थिक रूपले कसरी सवलीकरण गर्न सकिन्छ भन्ने नै प्रमुख कुरा हो। सडक, बिजुली, खानेपानीलगायत न्यूनतम पूर्वाधार शिक्षा स्वास्थ्यको कुरा नियमित रूपमा भइराखेको छ। स्वास्थ्य समस्या समाधान गर्नका लागि समय–समयमा विशेषज्ञ डाक्टर लाने गरेका छौं।
यहाँका मानिस महँगो भाडा तिरेर धेरै पैसा खर्च गरेर विजुवार आउनुपर्ने बाध्यता छ त्यसलाई घटाएर यहांँ बिरामीले कसरी औषधि उपचार गर्न सक्छन् ?
उनीहरूको आर्थिक भार कटौती हुन सक्छ भन्ने विषयमा केही सोच बनाएका छौं। पाक्षिक रूपमा भएपनि लिवासेबाट डाक्टरलाई गाउँपालिकामा ल्याएर सेवा दिने सोंच बनाएका छौं।
शिक्षा लगायत मान्छेको व्यक्तिगत आयस्रोत वृद्धिकालागि मेरो सपना खासमा कृषि, पर्यटनको क्षेत्रमै बढी लागेर यहाँका बासिन्दाको आर्थिक उन्नती कसरी गर्न सकिन्छ भन्ने नै हो।
यसकालागि विज्ञहरू, मिडियाकर्मीहरू र पालिकाका शुभेच्छुकहरूले केही विचार दिनुभयो भने हामी त्यसरी अगाडि बढ्ने योजनामा लाग्ने छौं। खासमा गौमुखीवासीको आर्थिक समृद्धि नै हाम्रो लक्ष्य हो।
प्रतिक्रिया