दल दर्ता प्रक्रिया शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता कार्य अघि बढाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले सो कार्य अघि बढाइएको पुष्टि गर्नुभयो।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको निर्वाचनका लागि आगामी माघ ९ गते बिहीबारको मिति तय गरेको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तसँग परामर्श गरी सरकारले सो मिति तय गरेको थियो। मंसिर २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति पारित गरेको थियो।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि फागुन २० गते सकिँदै छ। निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिन लागेको हो। राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूको दर्ता प्रक्रिया थालेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।आयोगले मंसिर २६ गते बिहीबार दल दर्ताका लागि आह्वान गरी शुक्रबारदेखि दर्ता खोलिएको थियो।

‘राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि संविधानबमोजिम दल दर्ता गर्न आह्वान गरेका छौं, पुस ६ गतेसम्ममा निवदेन दिइसक्नुपर्नेछ।’ –प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो।

नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताका लागि आग्रह गरिएको हो।

दल दर्ताका लागि निवेदन पेस गर्दा संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका सर्तहरू पूरा गरेको हुनुपर्नेछ।

त्यसैगरी दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्या, आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, दलको केन्द्रीय स्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको भए पछिल्लो निर्वाचन भएको मिति र राजनीतिक दलको संगठनात्मक स्वरुप (केन्द्रीय स्तर र प्रदेश स्तरमा छ छैन खुलाउने) निर्वाचन आयोगमा जानकारी गराउनुपर्नेछ।