‘बेबिलोन स्रष्टा सम्मान २०७६’ संरक्षणवीद् पुरीलाई प्रदान


न्युज अफ नेपाल, काडमाडौं ।

२०७६ सालको ‘बेबिलोन स्रस्टा सम्मान’ भक्तपुरका चर्चित युवा सम्पदा संरक्षणवीद् एवम् शिक्षासेवी रवीन्द्र पुरीलाई प्रदान गरिएको छ ।

बेबिलोन नेशनल स्कुल शान्तिनगर, मिनभवनद्वारा स्थापित नगद १५ हजार ५सय ५५ राशीसहितको सो सम्मान प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार आयोजित विद्यालयको २४ औं अभिभावक दिवस समारोहमा संरक्षणवीद् पुरीलाई प्रदान गरिएको हो ।

संघीय संसदका उपसभामुख डा.शिवमाया तुम्वाहाम्फे, ३ नं प्रदेशका सांसद गणेश दुलाल, बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेजबहादुर राई तथा विद्यालयका प्रिन्सिपल राजु राईले संरक्षणवीद् पुरीलाई रुद्राक्षको माला लगाई नगद र ताम्रपत्र सहितको बेबिलोन स्रष्टा सम्मान २०७६ प्रदान गरेका थिए ।

काठमाडौं उपत्यका साथै काभ्रे जिल्लाका प्राचीन र ऐतिहासिक सम्पदा र धरोहर संरक्षणमा विशेष योगदान गर्नुुका साथै विभिन्न सामुदायीक विद्यालयहरुको निर्माण, जिर्णाेद्वार र शिक्षा विकासमा महत्वपुर्ण योगदान गरेवापत संरक्षणवीद् तथा शिक्षासेवी पुरीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७६’ प्रदान गरिएको हो ।

शिक्षा, साहित्य, कला, संस्कृति, इतिहास, सम्पदा र विकास र खेलकूदमा उल्लेखनिय योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्धेश्यले तीनवर्ष अगाडि स्थापित सो सम्मान यसअघि राष्ट्रगानका रचनाकार व्याकुल माइला र इतिहास तथा संस्कृतिवीद् डा.सत्यमोहन जोशीलाई सो सम्मान प्रदान गरिएको थियो ।

बेबिलोन नेशनल स्कुल, बेलायती शैक्षिक नियोग ब्रिटिस काउन्सिलबाट सन् २०१५ देखि २०२० सम्मका लागि दुईपटक ‘इन्टरनेशनल स्कुल एवार्ड (आईएसए)’ बाट पुरस्कृत भईसकेको २४ वर्ष पुरानो स्थापित विद्यालय हो ।

सम्पदा संरक्षणवीद् पुरीले भक्तपुर नगरपालिका वडा नं ३ दत्तात्रयस्थित एउटा कुखुराको खोर किनेर सो घरलाई परम्परागत शैलीमा पुननिर्माण गरि भक्तपुरकै ‘नमुना घर’ बनाएका कारण संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन युनेस्कोबाट सन् २००४ मा युनेस्को एसिया प्यासिफिक कल्चर हेरिटेज एवार्ड जित्न सफल भएका थिए । यसको अलावा उनी विभिन्न संघसंस्था र सरकारबाट समेत गरि दुई दर्जनभन्दा बढी पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।

नेपालमा २०४९ सालमा कानून, इतिहास, चित्रकला र व्यवस्थापन गरि एकैपटक चारवटा विषयमा स्नातक उतिर्ण गरी जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तरमा विश्वविद्यालय प्रथम भएका पुरी, रवीन्द्र पुरी फाउण्डेशनका संस्थापक अध्यक्ष समेत हुन ।

सो फाउण्डेशनले प्राचीन सम्पदा संरक्षणको साथै व्यवसायीक शिक्षा र सामुदायीक विद्यालयको उत्थान, शिक्षाको विकास र स्तरोन्नतिको साथै हराएर भेटिएका प्राचीन चित्रकला, मुर्तिकला र सम्पदा संरक्षणको लागि संग्रहालय स्थापनाको काम गर्दै आएको छ ।

शुक्रबार आयोजित विद्यालयको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उपसभामुख डा.तुम्वाहाम्फे र प्रदेश सभा सांसद दुलालले सो विद्यालयमा लामो समय अध्यापन गर्दै आएका शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरेका थिए ।

कार्यक्रममा संम्पदा संरक्षणवीद् पुरीले नेपाल संसारकै सवैभन्दा सुन्र देश भएको उल्लेख गर्दै आफुलाई प्रदान गरिएको यस्ता सम्मानले भविष्यमा पनि सम्पदा संरक्षण गर्न थप हौसला दिने बताए ।

त्यस अवसरमा विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयले २४ वर्षको अवधिमा विद्यार्थीहरुलाई शिक्षामात्रै नभई संस्कार र समयको माग अनुसारको व्यवहारिक शिक्षा दिँदै आएको बताए ।

बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेजबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभिभावकहरुका साथै विभिन्न वक्ताहरुले विद्यालयको शिक्षण पद्धतिबारे प्रशंसा गरेका थिए ।

त्यस अवसरमा विद्यार्थीहरुले आफुभित्रको प्रतिभामार्फत विविध सांस्कृतिक कार्यक्रम देखाएका थिए ।