आठ वर्षपछि पुल निर्माण


शिक्षा पन्त ,लमजुङ ।

लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको आठ वर्षपछि बल्ल पुल निर्माण भएको छ ।

दुई वर्षमा निर्माण सक्ने गरी बेंसीसहर–११, चितीको चित्रे र दोर्दी गाउँपालिका–४, नौथरको शेरा जोड्ने मोटरेबल पुल आठ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

डिभिजन सडक कार्यालय दमौलीका अनुसार ०६८ चैतमा शिलान्यास गरिएको पुल ०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने गरी हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।

सम्झौतापछि लामो समयसम्म काम नगरेको, गरेजस्तो गरी ठेकेदार भाग्ने गरेको र ठेकेदार सम्पर्कमा नआएकाले निर्माणमा ढिलाई भएको स्थानीय मोहन प्रसाद घिमिरेको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘निर्माण सुरु गरेको लामो प्रतिक्षापछि पुल निर्माण भएको छ । पुल नबन्दा सिङगो गाउँपालिकालाई समस्या थियो, पुल बनेसँगै गाडी गुड्न र सामान ल्याउन सहज भएको छ ।‘

सरकारले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही थाल्ने प्रक्रियाअघि बढाएपछि गत जेठबाट निर्माणकार्यले गति लिएको हो । सरकारको कदमसँगै ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएपछि पछिल्लो समय कामले निरन्तरता पाएसँगै पुल निर्माण भएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

पुल बनेसँगै दोर्दीका स्थानीय खुसी बनेका छन् । उहाँका अनुसार पुल बनेसँगै दोर्दी गाउँपालिकाका नौथर, ढोडेनी,पाचोक, श्रीमञ्ज्याङ, फलेनीलगायतका स्थानियलाई आवतजावतका साथै खाद्यन्नको सामग्री ढुवानी गर्न सहज भएको छ ।

६० मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त पुल २ करोड ८० लाख रुपैयाँमा निर्माण सम्झौता भएको डिभिजन सडक दमौलीका इन्जिनियर ठाकुर भण्डारीले बताउनुभयो ।

सपना–जयबाबा जेभीले संयुक्त रूपमा निर्माण गर्दै आएको उक्त पुल निर्माणको जिम्मा पछिल्लो समय जयबाबाले लिएको थियो  । जयबाबाका साइट इन्चार्ज धनबहादुर बमले भूकम्प, नाकाबन्दी, बजेट अभाव, निर्माण सामग्री अभाव, पुल निर्माणस्थलमा आएको चट्टान र बिलिङ समस्या लगायतले समयमा निर्माण सम्पन्न हुन नसकेको दाबी गर्नुभयो ।

निर्माणमा ढिलाइ गरेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना पनि गरेको थियो । जरिवाना रकम करिब २८ लाख हुन आउने डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्माण कम्पनीलाई हालसम्म ७५ प्रतिशत बढी रकम भुक्तानी गरिसकिएको छ ।