दुर्त मार्गको ८० प्रतिशत काम सम्पन्न


न्युज अफ नेपाल, बारा ।

तराईलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेक ८० प्रतिशतले भौतिक प्रगति गरेको छ ।

सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माण कार्य अगाडी बढाइरहेको छ । साथै मुलुकको पहिलो द्रुतमार्ग निर्माणलाई प्रत्यक्ष रुपमा नेतृत्वसमेत सेनाले गरेको छ ।

निर्माणको गति र भइरहेको कामको प्रगतिका आधारमा चालू आवको अन्त्यसम्म सेनाले सडकतर्फको सबै काम सम्पन्न हुनेछ । कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न ३० प्याकेजमा काम भइरहेको छ ।

तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको हो ।

सडक निर्माणको काम अन्तिम चरणमा पुग्ने क्रममा रहेसँगै सेनाले सुरुङ र पुल निर्माणका लागिसमेत प्रक्रिया शुरु गरिसकेको छ । दुर्तमार्गमा तीन ओटा सुरुङ निर्माण हुनेछ ।

आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार महादेवडाँडा, धेद्रे रलेनडाँडामा क्रमसः ३ दशमलव ३५५, १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ ।

सुरुङ मार्ग निर्माणका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भइसकेको छ । त्यसका लागि अन्तरराष्ट्रियस्तरका कुल छ ओटा संस्थाले आशयपत्र पेश गरेका छन् । परामर्शदाता छनोटसँगै सुरुङ र पुल निर्माणको प्राविधिक तयारीले पूर्णता पाउनेछ ।

आगामी फागुनसम्म सो कार्य सम्पन्न गरी पुल र सुरुङका लागि निर्माण व्यावसायी छनोट गर्ने प्रक्रिया अगाडि बढ्नेछ । कालोपत्र गर्ने तहको सडक निर्माण सम्पन्न भएसँगै सुरुङ र पुल निर्माणका लागि निर्माण व्यावसायी परिचालन गर्ने लक्ष्य सेनाले राखेको छ ।

कुल ७२ दशमलव५ किलोमिटर लामो दुर्तमार्ग पहिले ९६ ओटा पुल निर्माण हुने भनिए पनि स्वीकृत डीपीआरमा ८६ पुल निर्माण हुने उल्लेख गरिएको छ ।