चितवन मेडिकल कलेज शुल्क समायोजन गर्न प्रतिवद्ध


न्युज अफ नेपाल, चितवन ।

चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने भएको छ।

कलेजले शनिबार सार्वजनिक सूचना जारी गरेर मंसिर १० गते मन्त्रालय र कलेज सञ्चालनबीच भएको सम्झौता अनुसार नै एमबीबीएस र बीडीएस अध्ययनको शुल्क समायोजन गर्न प्रतिवद्ध रहेको जनाएको छ।

कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले शैक्षिक वर्ष ७४।७५ र ७५।७६ मा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क विद्यार्थीको बाँकी पढाइको शुल्कमा समायोजन गर्ने शैक्षिक वर्ष २०७२।७३ र ७३।७४ को शुल्क समायोजन गर्ने सम्बन्धमा भने चिकित्सा शिक्षा आयोगबाट अध्ययन भएपछि आउने प्रतिवेदन अनुसार फिर्ता गर्न आफूहरु प्रतिवद्ध भएको बताए।

शैक्षिक वर्ष ७४।७५ र ७५।७६ मा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कमध्ये समायोजन गर्दा प्रति विद्यार्थी एक लाख रुपैंयाँ पर्नेछ निर्देशक डा. हरिशचन्द्र न्यौपानेले बताएका छन्।

विद्यार्थीबाट लिएको शुल्कमध्ये परीक्षा, रजिष्ट्रेसन, नेपाल मेडिकल काउन्सिल र संस्थागत शुल्क कटौती गरेर बाँकी रकम समायोजन हुने निर्देशक डा. हरिशचन्द्र न्यौपानेले बताए।