सुदूरपश्चिमका हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात

0
Shares

विमल विष्ट,डोटी।

बुधवार देखीको मौसममा आएको परिवर्तनका कारण डोटी लगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ,बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक,बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसंगै जोडिएको पूर्विचौकी गाउँपालिकाका स्थानिय जोगीसिंह विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाई वस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले बस्तुभाउ गोठ बाहिर निकाल्न समेत समस्या भएको छ ।”हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण स्थानिय किसान भने हिउँ पर्दा हिउँदैबाली सप्रिने आसामा खुशी भएका छन् ।

हाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको अर्का स्थानीयवासी ध्वजबहादुर विष्टले जानकारी दिनुभयो ।

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल,सिलगढी लगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ ।

पानी र हिमपातका कारण यहाँको तापक्रमनिकै घटेको छ । चिसोका कारण बिभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजंङ्ग कुँवरले सुझाब दिनुभएको छ ।