अघिल्लो बर्षभन्दा जुनारको मूल्य दोब्बर बढेपछि किसान हर्षित

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।

जुनार किसानहरुका लागि यतिबेला अरु कामको लागि समय निकाल्न निकै कठिन छ । किनकी यतिबेला बगैचाभरी पहेँलपुर भएर पाकेका जुनार टिपेर प्रसोधन केन्द्र या ब्यापरीलाई विक्री गर्ने सयम हो ।

रामेछाप नगरपालिका–७ सुकाजोरका निर बहादुर तामाङ पनि एक महिना देखि आफ्नो बगैचामा फलेका जुनार टिपेर आफ्नै गाउँमा खुलेको जुनार जुस प्रसोधन केन्द्रसम्म जुनार ढुवानी गर्नमै व्यस्त हुनुहुन्छ ।

निकै व्यस्त देखिनुभएका तामाङले अघिल्ला वर्षहरुका धेरै तिता अनुभव र यस वर्षका केही खुसीका क्षण सुनाउँदै भन्नुभयो– ‘मैले २० रोपनी जग्गामा जुनार खेती गरेको छु । मेरो तीन ओटा बगैचामा करिब ८ देखि १० टनको हाराहारीमा जुनार उत्पादन हुन्छ ।

अघिल्ला वर्षहरुमा त्यति धेरै जुनार फलेको भए पनि ५०÷६० हजार भन्दा बढी आम्दानी हुन्थेन । तर यसपलि म आफै दंग छु । किनकी एकै सिजनमा करिब तीन लाख जति आम्दानी भयो ।’

यस अघि बगैचामै बाहिराका व्यपारी आएर काँचै जुनारलाई प्रति किलो २०/२५ रुपैयाँमा आफूलाई चहिएको जति किन्ने गरेकाले आफूलाई घाटा लागेको तामाङले बताउनुभयो ।

तर यस वर्ष पाकेको जुनार बगैचामै ४० देखि ४५ रुपैयाँमा सबै विक्री भए पछि तीन लाख भन्दा बढी आम्दानी हुनु धेरै राम्रो भएको उहाँको बुझाई रहेको छ ।

जिल्लामा जुनारको जुसमा लामो समय देखि काम गर्दै आएको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालिले बगैचामै गएर जुनार खरिद गरिदिए पछि उहाँ मात्रै हैन रामेछाप नगरपालिका भित्रका दुई सय पचास भन्दा बढी जुनार किसानले राम्रै आम्दानी गरेका छन् ।

कम्पनीका संचालक लोकेन्द्र श्रेष्ठका अनुसार यस वर्ष मात्रै आफ्नो कम्पनीले किसानसँग करिब ७० लाख मूल्य बराबरको डेढ सय टन जुनार खरिद गरेको बताउनुभयो ।

श्रेष्ठको कम्पनीमा जुनार प्रसोधनको लागि १० जना युवाले नियमित रोजगारी पाइरहेका छन् भने डेढ महिनाको लागि दैनिक ७० जनाले रोजगार समेत पाएका छन् । विगत १३ वर्ष देखि जुसको काम गर्दै आएको कम्पनीले यस वर्ष करिब दुई करोड बराबरको जुस उत्पादन गर्ने श्रेष्ठले बताउनुभयो ।

उता अघिल्लो वर्ष जुनारमा किरा परेर किसानलाई मर्क परे पछि यस वर्ष नगरपालिकाले किरा नियन्त्रणको लागि अनुदानमा विषाधी उपलब्ध गराएको रामेछाप नगरपालिकाले बताएको छ ।

नगरपालिकाका धेरै क्षेत्रहरु जुनार उत्पादनको लागि उपयुक्त भएकाले धेरै ठाउँमा जोनकै रुपमा कार्यक्रम गरिँदै आएको नगर प्रमुख नर बहादुर थापामगर बताउनुभयो ।