रियल मेड्रिड नकआउट चरणमा

0
Shares

लन्डन, (एजेन्सी) ।
यूईएफए च्याम्पियन्स लिगको सबैभन्दा सफल स्पेनिस क्लब रियल मेड्रिड जारी सिजनको च्याम्पियन्स लिगको नकआउटमा पुगेको छ। रियलले समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। बुधबार राति भएको खेलमा रियलले बेल्जियन क्लब ब्रगमाथि ३–१ को जित निकालेको थियो।चारै गोल पहिलो हाफमा सम्भव भएका थिए।
रियलको जितमा दुई ब्राजिली युवा फरवार्ड रोड्रिगो र भिनिसियस जुनियरले गोल गरे। एक गोल लुका मोड्रिचले थपे। क्लब ब्रगका हान्स भानकेनले एक गोल फर्काए।
रियल रहेको समूहबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो। पीएसजीले टुर्किस क्लब गालाटासारेमाथि ५–० को सानदार जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम १६ मा पुगेको हो।
घरेलु मैदानमा पीएसजीको जितमा ५ खेलाडीले गोल गरे। टोलीका क्लियन एम्बाप्पे, मोउरो इकार्डी, पाब्लो साराविया, नेयमार र एडिन्सन काभानीले गोल गरेका थिए। अपराजित रहेको पीएसजीले समूहमा ५ खेलमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो। त्यस्तै इटालियन क्लब युभेन्ट्सले पनि घरेलु टोली बायर लिभरकुसेनलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्यो।
जितसँगै अपराजित रहेको युभेन्ट्सले ६ खेलबाट १६ अंक जोडेर समूह ‘डी’ को विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र हिगुआइनले एक–एक गोल गरेका थिए। यो समूहबाट स्पेनिस क्लब एट्लेटिको मेड्रिड १० अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो। एट्लेटिकोले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–० ले पराजित गरेको थियो। एट्लेटिकोको जितमा जोओ फेलिक्स र फिलिपेले गोल गरे।
त्यस्तै इंग्लिस क्लब टोटेनह्याम हस्टपर भने जर्मन क्लब बायर्न म्युनिखसँग ३–१ ले पराजित भयो। बायर्नको जितमा किङ् सले कोमान, थोमस मुलर र फिलिपे कोउटिन्होले गोल गरे। टोटेनह्यामका रायन सेसेग्ननले एक गोल फर्काए। जितसँगै बायर्न समूह ‘बी’ को विजेता र टोटेनह्याम उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे।
त्यस्तै ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्रोएसियन क्लब डाइनामो जाग्रेबमाथि ४–१ को सानदार जित निकाल्यो। सिटीले जाग्रेबकै मैदानमा एक गोलले पछि परेका स्थितिलाई उल्ट्याएर फराकिलो गोल अन्तरको जित निकालेको हो। जेससको ह्याट्रिकसहित सिटीका लागि फिल फोडेनले चौथो गोल गरेका थिए। त्यस्तै जाग्रेबका ड्यानिल ओल्मोले खेलको १० औं मिनेटमा पहिलो गोल गरेका थिए।
जितसँगै सिटीले समूह ‘सी’ बाट समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। सिटीले ६ खेलबाट १४ अंक जोडेको छ। यो समूहबाट इटालियन क्लब एट्लान्टाले समूह उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो।
एट्लान्टाले साख्तर डोनेक्सलाई उसैको मैदानमा ३–० ले पराजित गरेको थियो। जितसँगै एट्लान्टाले ७ अंक जोड्यो। ६ अंक जोडेको साख्तर र ५ अंक जोडेको डाइनामोले भने समूह चरण पार गर्न सकेनन्।
नकआउट चरणमा पुगेका टोलीहरू
लिग वान (फ्रान्स)- पेरिस सेन्ट जर्मेन (पीएसजी), लियोन
ला लिगा (स्पेन)- रियल मेड्रिड, बार्सिलोना, भ्यालेन्सिया, एट्लेटिको मेड्रिड
बुन्डेसलिगा (जर्मनी) – बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड, आरबी लेइप्लिज
प्रिमियर लिग(इंग्ल्यान्ड)- टोटेनह्याम, म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी
सिरि ए (इटाली) – एट्लान्टा, युभेन्ट्स, नेपोली