कतार एयरवेजले १ लाख ५० हजार डलर दिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
अन्तर्राष्ट्रिय ब्रान्ड कतार एयरवेजले यही मंसिर २८ गतेदेखि हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको लागि शीर्षक प्रायोजन गर्ने भएको छ। कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग प्रायोजनका लागि बिहीबार सम्झौता गरेको हो।

कतार एयरवेजले एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्ने पत्रकार सम्मेलनमा एन्फाले जानकारी गरायो। दुई किस्ता गरी रकम बुझाउने सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई पहिलो किस्तामा ९० हजार डलर र दोस्रो किस्तामा ६० हजार डलर प्रदान गर्नेछ।

दशरथ रंगशालामा करिब ५ वर्षपछि ए डिभिजन लिग हुन लागेको छ। २०७२ बैसाख १२ गतेको महाविनास भुकम्पले रंगशाला जीर्ण भएर कुनै पनि प्रतियोगिता सञ्चालन भएको थिएन। हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मात्रै दशरथ रंगशाला प्रयोगमा आएको हो।

यस सिजनको लिगका ९१ खेल रंगशालाको मैदानमा हुँदैछ जसमा पहिलो खेल मंसिर २८ गते मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब बीच दिउँसो ३ बजे हुनेछ। प्रतियोगिताको पुछारमा हुने एक टोली रेलिगेसन हुनेछ।
पुरस्कार रकम 
प्रतियोगिता सञ्चालन गर्न रु. ६ करोड ३० लाख अनुमानित बजेट रहेको एन्फाले जनाएको छ जसमा तयारी गर्न सहभागिता १४ टोलीलाई २०/२० लाख प्रदान गर्नेछ। यस सिजनको ए डिभिजन विजेता हुने टोलीले ५० लाख नगद हात पार्नेछ। त्यस्तै दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः ३५ लाख र २५ लाख प्रदान गरिनेछ।
यसैगरी चौथोदेखि छैठौं हुने टोलीले क्रमशः १५, ७ र ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका विजेता टोलीले ५० हजार पाउने पनि एन्फाले जनायो। यस्तै बराबरी भएमा १५/१५ हजार टोलीलाई दिइनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार दिने पनि जनाएको छ।
यस्तै प्रतियोगितामा ५ विधागततर्फ उत्कृष्ट हुने प्रत्येकलाई १ लाख ५० हजार प्रदान गरिनेछ जसमा डिफेन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षक रहेका छन्। प्रतियोगिताको फेयर प्ले हुने टोलीलाई १ लाख प्रदान गरिनेछ।
एन्फाले दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि टिकट मूल्य पनि निर्धारण गरेको छ। साधारण प्यारापिटका लागि २ सय रुपियाँ तोकिएको छ भने भीआईपी प्यारापिटका लागि ५ सय रुपियाँ निर्धारण गरिएको छ। टिकट विक्रीबाट १ करोड रुपियाँ संकलन गर्ने एन्फाले लक्ष्य लिएको छ।
सहभागि हुने १४ ए डिभिजन क्लब
मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब, च्यासल युवा क्लब, न्युरोड टिम (एनआरटी), बिग्रेड ब्वाइज क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युवा क्लब, फ्रेन्डस् क्लब, मनाङ मस्र्याङदी क्लब र थ्रीस्टार क्लब।