सहायक ठेकेदारको भुक्तानी टुंगो लागेन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सीएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुंगो लाग्न सकेको छैन। स्थानीय कामदारको ज्यालाको टुंगो लागे पनि सहायक ठेकेदारका विषयमा टुंगो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ।

सीएमसीले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ। मजदुरलाई ज्यालाबापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो।

भुक्तानी गर्न बाँकी रहेका भनिएका कम्पनीको माग सही छ छैन भनी जाँच गर्ने काम भइरहेको बताउँदै उहाँले जाँच सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्ने बताउनुभयो।

सीएमसी कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन। कम्पनी गएदेखि नै उनीहरूले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताउनुभयो।