नेपालका ११ सम्पदा पुनर्निर्माणमा भारतले सघाउने

0
Shares

काठमाडौं, (नेस) ।

भूकम्पले क्षतिग्रस्त बनेका नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले भारतीय निर्माण कम्पनीसँग सम्झौता गरेको छ। नेपालका विभिन्न ११ सम्पदा पुनर्निर्माणका निम्ति नेपालका लागि भारतीय दूतावासले इन्डियन नेसनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक)सँग सम्झौता गरेको हो। भारतीय दूतावासका उपनियोग प्रमुख डा. अजय कुमार र इन्ट्याककी सदस्य सचिव डा. सीटी मिश्राले बिहीबार यसबारेको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

नेपालका लागि भारतीय राजदूत मञ्जिमसिंह पुरी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीको उपस्थितिमा उहाँहरूले हस्ताक्षर गर्नुभएको हो। यस्तो सम्झौतापश्चात सरकारले तयार पारेको निर्देशिकाअनुसार इन्ट्याकले काठमाडौं, ललितपुर, भक्तपुर र सोलुखुम्बुका ११ वटा सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने बताइएको छ।

इन्ट्याकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँगको समन्वयमा आफ्ना गतिविधि अघि बढाउने पर्यटन मन्त्रालयले जनाएको छ। विश्वको सबैभन्दा ठूलो सांस्कृतिक संगठनमध्येको एक इन्ट्याकको भारतमा मात्रै करिब २ सय शाखा रहेका छन्।