थुतुनो प्रतिस्पर्धामा नजुटम्


विदेश भासिएका नेपाली उतै भासिन्छन्, उतैको ग्रीनकार्ड र सुख सुविधामा रमाउँछन् भन्ने आम नेपालीको बुझाई छ। विदेश पुगेसी नेपालको हितका लागि सिन्को पनि नभाच्ने अनि नेता मन्त्रीले देश विगारे भन्दै बाह्रैमास सराप्न व्यस्त हुनेहरुको भीडमा गौरिका सिंह अपवाद भएकी छिन्।

माता पितासँगै लन्डनमा बसेपनि नेपाली खेलकूदप्रतिको उनको लगाव र झुकाव लाहुरे (एनआरएनए) मित्रहरुका लागि चोटिलो जवाफ प्रमाणित भएको छ। गौरिकाले एउटै साफबाट चारवटा स्वर्ण पदक विजेता भई देशको गौरव बढाएकी छिन्। सरकार र नेपालको आलोचनामा रम्नेहरुको मुखमा उनले चोटिलो बुझो लगाएकी छिन्।

गौरिका मात्रै होइन, यसअघि काठमाडौंमै आयोजना भएको आठौं साफमा बेलायती लाहुरे राजकुमार राईले पनि मार्सल आर्टस्मा नेपाललाई स्वर्ण दिलाएका थिए। विदेशी हावापानीमा नहुर्किएपनि अहिलेको सागमा नेपाली खेलाडीले गज्जबकै इतिहास रच्या छन्।

स्वर्ण वर्षाले मुलुकको शीर सगरमाथाझैं उच्चो भएको छ। धरहरा चाहन्छ–यस्तै खुशीयाली अन्य क्षेत्रले पनि फटाफट प्राप्त गरोस्। पदक विजेता खेलाडी खाडी र अन्य मुलुक पलायन भएको खबर सुन्न नपरोस्। देशलाई बाह्रैमास नसरापम्, थुतुनो छुच्चो बनाउने प्रतियोगितामा प्रतिस्पर्धा नगरम्।