हिंसामा उजुरी, कारबाही शुरूपछि बेपत्ता



नेपाल समाचारपत्र, काभ्रे।

लैंगिक हिंसाबिरुद्ध अभियान चलिरहेको छ तर महिलाबिरुद्ध हुने हिंसाका घटना बढिरहेका छन्। हिंसा भएका उजुरी प्रहरीमा दर्ता हुन्छन् तर परिवार तथा आफन्तको दबाबमा उजुरीपछि कारबाहीको प्रकृया शुरू हुँदा महिलाहरू फर्केर आउँदैनन्।

घरेलु हिंसामा उजुरी गर्ने महिलाहरू उजुरीपछि सम्पर्कमै आउन छाडेका छन्। पारिवारिक दबाब तथा अन्य कारणले उजुरी दिएर सम्पर्कमै नआउने महिलाहरूको संख्या वर्षेनी थपिदै गएको छ। घरेलु हिंसामा उजुरी दिएका मध्ये केही उजुरी मुद्दाका रूपमा दर्तासमेत हुने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेको त्रि–वर्षीय तथ्यांकका आधारमा उजुरी दिने र उजुरीपछि सम्पर्कमा नआउने महिलाहरूको संख्या बढेको छ। आर्थिक वर्ष २०७३/२०७४ मा दुई सय ५३ उजुरी परेकामध्ये १ सय ८८ वटा प्रहरी कार्यालयमा मिलापत्र भएका छन् भने २३ वटा अदालत पठाइएको छ।

४२ वटा उजुरीका पीडितहरू प्रहरीको सम्पर्कमै आएनन्। घरेलु हिंसामा दर्ता भएका चारवटा मुद्दामध्ये दुई वटामा मिलापत्र भएको थियो भने दुई वटा मुद्दा अदालतमा पेस गरिएको थियो। आर्थिक वर्ष २०७४/२०७५ मा २ सय ३० वटा उजुरी दर्ता भएका छन्। दर्ता भएका मध्ये १ सय १५ वटा उजुरीमा मिलापत्र भएको छ।

२० वटा अदालत पठाइएको थियो भने ९५ वटा उजुरीका महिलाहरू सम्पर्कमै आएनन्। सोही वर्ष १३ वटा मुद्दा घरेलुहिंसामा दर्ता भए। ७ वटा मिलापत्र भएको थियो भने ४ वटा अदालतमा पेस गरिएको थियो। एउटा मुद्दा बहुविवाहमा दर्ता भयो।

एक पीडक फरार भएकाले सक्कलै मिसिल अदालत बुझाइएको महिला सेल प्रमुख सई सीता श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै आर्थिक वर्ष २०७५/२०७६ मा उजुरीको संख्या २ सय ३४ पुग्यो। प्रहरी कार्यालयमा १ सय १७ वटा उजुरीमा मिलापत्र भएको थियो भने १५ वटा उजुरीलाई अदालतमा पठाइएको थियो।

९३ जना उजुरी गरेर पनि सम्पर्कमा आएनन्। २०७५/२०७६ मा घरेलु हिंसा मुद्दा दर्ता भएनन्। स्थानीय सरकारमा गठन भएका न्यायिक समितिहरूमा अधिकांश महिला हिंसासम्बन्धी उजुरीहरू दर्ता भएका छन्। तीमध्ये अधिकांश मिलापत्र गरेर पठाइएको छ भने केही साँध सिमाना र अन्य विषयका उजुरीहरू दर्ता भएका छन्।

न्यायिक समितिका संयोजकहरूले न्यायालयमा जस्तै दुई पक्षीय छलफलमार्फत उजुरीको समाधान गर्दै आएका छन्। आर्थिक वर्षको २०७६/२०७७ को कात्तिकसम्म ८४ वटा उजुरी दर्ता भएका छन्। जसमध्ये ४६ वटा मिलापत्र भइसकेका छन् भने ७ वटालाई अदालत पठाइएको छ। ३० वटाको काम बाँकी छ।

तीन वर्षमा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, आत्महत्या, बहुविवाह, कर्तव्य ज्यान, अपहरण तथा जबरजस्ती करणी, बोक्सिको आरोप, बालविवाह र लागूऔषधसँग सम्बन्धित घटनामा महिला पीडित हुने गरेको र प्रत्यक्ष संलग्नता रहने गरेको देखिएको छ। हराउने महिला तथा बालबालिकाहरूको संख्या पनि त्यतिकै छ।

हराएको निवेदन दिने तर फेला परेको निवेदन नदिने कारण महिलाहरूको संख्या हराएकोमा धेरै देखिएको छ। तीन वर्षको बीचमा हराएको जानकारी दिएका महिला तथा बालबालिकाहरूको सख्या ५ सय ३७ पुगेको छ।

चालु वर्षको कात्तिकसम्म ६९ जनाको निवेदन परिसकेको छ। ३ सय ७४ जना फेला परेको जानकारी प्राप्त भएको छ भने १ सय ७० जना अझै फेला पर्न बाँकी छन्। ३ वर्षअघि हराएका २३ जनाको बारेमा अझै प्रहरीमा जानकारी छैन।

प्रतिक्रिया दिनुहोस्