अन्तर्राष्ट्रिय मेयर सम्मेलन हुने

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।

उपत्यका नगरपालिका फोरमले अन्तर्राष्ट्रिय मेयर सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२०को अवसरमा फोरमले आगामी अक्टोबर २१ देखि सम्मेलन आयोजना गर्न लागेको हो। फोरमको सोमबार भक्तपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

काठमाडौ महानगरपालिकाका प्रमुख तथा फोरमका संयोजक विद्यासुन्दर शाक्यले बैठकमा सम्मेलनका लागि आवश्यक तयारी थाल्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘सम्मेलनका लागि आवश्यक तयारी थाल्छौं।’

सम्मेलनमा सार्क मुलुकका शहरका नगर प्रमुखहरू, भगिनी शहर भएका शहरका प्रमुखहरू, युनेस्को, युएन ह्याबीटेसलगायतका संघसंस्थालाई उक्त सम्मेलनमा आमन्त्रित गरिने फोरमका संयोजक शाक्यले बताउनुभयो। उहाँले भन्नुभयो– ‘यो सम्मेलनले अनुभव आदानप्रदान गर्न सहयोग गर्नेछ।’

शाक्यका अनुसार विदेशी मेयरहरूलाई लुम्बिनी, पोखरा, चितवनजस्ता ठाउँमा घुमाउन लैजाने योजना रहेको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस्तो सम्मेलनले अनुभवहरू आदान प्रदान गर्न सहयोग गर्ने बताउनुभयो। उहाँले भन्नुभयो–‘यस्ता सम्मेलनबाट दीर्घकालमा सहयोग प्राप्त हुनसक्छ, त्यहाँको अनुभव लिने राम्रो अवसर हुन सक्छ।’

फोरमका संयोजक शाक्यले विदेशी पाहुनालाई नेपालमा निम्त्याउँदा सम्पदा र संस्कृतिको बारेमा मात्रै जानकारी दिने गरेको बताउँदै अब व्यापारिक सम्बन्धलाईसमेत विस्तार गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘यसो गर्दा हाम्रा महानगरलाई आर्थिक रुपमा समृृद्ध बनाउन सहयोग पुग्छ।’ मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मेलनबाट उपत्यकाभित्रका समस्या समाधान गर्न अनुभव प्राप्त हुने बताउनुभयो।

फोरममा उपत्यकाभित्रका १८ वटा नगरपालिका संलग्न छन्। बैठकमा फोहोरमैला व्यवस्थापन, उपत्यकाका विषयगत निकायहरूसँग समन्वय गर्ने, उपत्यका विकास प्राधिकरण खारेज गर्ने निर्णय कार्यान्वयनका लागि निरन्तर दबाब दिने निर्णय गरिएको छ। त्यसै गरी नगरपालिकाभित्रका समस्या समाधान गर्नका लागि संयुक्त रुपमा अघि बढ्ने विषयमा समेत छलफल भएको थियो।