अध्यक्ष थापा स्वदेश फिर्ता

0
Shares

काठमाडौं, (नेस)।

तीन हप्ता लामो अमेरिका भ्रमण सम्पन्न गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा मंगलबार स्वदेश फर्कनुभएको छ। अध्यक्ष थापा अमेरिकाको वासिङटनमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको आईडीयू फोरम, बाल्टिमोरमा प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन, टेक्सासमा आयोजित नेपाली समुदायसँग बृहत छलफल एवं अन्तरक्रियालगायतका विविध कार्यक्रममा सहभागी हुन गत कात्तिक २७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।

आईडीयू फोरममा सहभागी हुने क्रममा अध्यक्ष थापाले अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनका अध्यक्ष एवं क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर, महासचिव क्रिस्टिन क्याटनर, एसिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव बरुस इडवार्डस्लगायत युनियनका सदस्य पार्टीका नेताहरूसँग महत्वपूर्ण भेटघाट र वार्ता गर्नुभएको थियो।

क्यानाडाका पूर्वप्रधानमन्त्री तथा आईडीयूका अध्यक्ष स्टेफेन हार्परले उद्घाटन गरेको सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनुका साथै परम्परागत मूल्य मान्यता र संस्कृतिको सम्बद्र्धनका बहुआयामिक पक्षमा समेत विचारविमर्श भएको छ। यु

नियनका अध्यक्ष हार्परसंगको भेटमा विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको थियो।

सम्मेलनमा अध्यक्ष थापा नेतृत्वको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको थियो।

स्वदेश फर्कनुभएका अध्यक्ष थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरणबहादुर गुरुङ, महामन्त्री भाष्कर झालगायतका नेता कार्यकर्ताले स्वागत गर्नुभएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ।