श्रीकृष्ण मावि नयाँ भवनमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

चन्द्रागिरि नगरपालिका–१, दहचोकमा अवस्थित श्री कृष्ण माध्यामिक विद्यालयको नवनिर्मित तीनवटा भवनको उद्घाटन गरिएको छ। विद्यालयद्वारा आयोजित एक भव्य समारोहका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उक्त भवनको उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीको आधार सूत्र नै शिक्षा भएको बताउनुभएको छ। उहाँले भन्नुभयो– ‘शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना हुँदैन।’

उहाँले सरकारले प्रविधिमैत्री व्यावसायिक शिक्षा उपलब्ध गराउने योजनासहित व्यावसायिक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुने गरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागिएको जानकारी दिनुभयो।

यसै गरी काठमाडौं क्षेत्र नं ९ का संघीय संसद् सदस्य कृष्णगोपाल श्रेष्ठले सरकारी विद्यालय निम्न वर्गीय विद्यार्थीका लागि मात्र स्थापित हुँदै गइरहेकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र शिक्षक शिक्षिकाको छोराछोरीलाई पनि अनिवार्य रूपमा समुदायिक विद्यालयमा पढाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै प्राविधिक शिक्षातर्फ पनि आफू केन्द्रित रहेको उल्लेख गर्नुभयो।

उद्घाटन समारोहमा राष्ट्रियसभाका सदस्य रामनारायण विडारी, संघीय संसद् सदस्यहरू अञ्जना विसंखे, अमृत थापामगर, विना श्रेष्ठ, तत्कालीन संविधानसभाका सदस्य रुपा महर्जन, ३ नं प्रदेश सभाका सदस्यहरू केशव पोखरेल, रमा आलेमगर, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मी, वडाध्यक्षहरू राजेन्द्र केसी, गोपी सुर्खेती, उत्तम राउत, कलाकार दीपकराज गिरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्नुभएका दीपकराज गिरी, रामबहादुर गिरी, बच्चुराम घिमिरे, उमेश गिरी, दीपकराज रेग्मी, अनिल लुईंटेल, सुरेन्द्र खड्का, नारायण खत्री, दहचोक युवा समूहलगायतलाई धन्यवादसहित सम्मानपत्र प्रदान गरिएको थियो।