अस्पतालजन्य फोहोर व्यवस्थापनबारे छलफल

0
Shares

काठमाडौं, (नेस)।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापन महाशाखा, जर्मन नियोग, विश्व स्वास्थ्य संगठन, यूएनडीपी, युनिसेफ, वाटरएडलगायत अन्य सरोकारवाला निकायको संयुक्त आयोजनामा मंगलबारदेखि तीन दिने वातावरणीय स्वास्थ्यसम्बन्धी कार्यशाला गोष्ठी शुरू भएको छ।

उक्त कार्यशालाको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभयो। कार्यशालाको मुख्य उद्देश्य वर्तमान वातावरणीय स्वास्थ्य, स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यजन्य फोहोरमैला तथा खानेपानी सरसफाइको अवस्था राम्रो नभएकाले यसले जनस्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने हुँदा, यससँग सम्बन्धित विषयलाई राष्ट्रिय रूपमा उठान गरी भावी कार्ययोजना तयार गर्ने रहेको छ।

साथै राष्ट्रिय एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन तथा खानेपानी सरसफाइ र स्वच्छतासम्बन्धी बृहत छलफल तथा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य फोहोर व्यवस्थापन र वासको दिगो अभ्यासका बारेमा ज्ञान तथा अनुभव आदानप्रदान गरी मानव स्वास्थ्यमा संक्रमण र प्रतिकूल प्रभावहरूलाई न्यूनीकरण गरेर गुणस्तरीय स्वास्थ्य सेवाहरूमा समान पहुँच सुनिश्चित गर्ने कार्यदिशा सुनिश्चितताको उद्देश्यले आयोजित कार्यशालामा तीनै तहका सरकार, विकास साझेदार संस्थाहरू, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहभागीसमेत गरी करिब ३ सय ५० जनाको सहभागिता रहेको मन्त्रालयले जनाएको छ।