संसद् बैठक पुस ४ गते

0
Shares

काठमाडौं, (नेस)।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते संसद् बैठक आह्वान गर्नुभएको छ। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी पुस ४ गते शुक्रबार दिउँसो ४ बजे संसद् बैठक आह्वान गर्नुभएको हो। उहाँले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसद् बैठक आह्वान गर्न सिफारिस गरेको थियो। सोहीअनुरूप राष्ट्रपतिले संसद् बैठक आह्वान गर्नुभएको हो। संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा रहेकाले सभामुख पद रिक्त छ।

आगामी संसद्को बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सञ्चालन गर्ने बताइएको छ। कानुनबमोजिम सभामुखको पद रिक्त रहेको अवस्थामा उपसभामुखले संसद् बैठक सञ्चालन गर्ने प्रावधान छ। नेकपाले अहिलेसम्म नयाँ सभामुखबारे निर्णय लिन सकेको छैन।

उपसभामुख तुम्बाहाम्फेले उक्त पदमा दाबी गर्नुभएको छ भने पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङको नाम पनि अग्रपंक्तिमै उठाइएको छ।