पश्चिमी वायुका कारण हिमपात र चिसो

ट्रेकिङ गएका र जाने तयारीमा रहेकाहरुले सावधानी अपनाउन जरुरी

0
Shares

काठमाडौं, (नेस)। 

भू–मध्य सागरको वायुको प्रभावले अबका केही दिन मुलुकभरको मौसम प्रभावित बन्ने भएको छ। उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिमपातसहित धेरै ठाउँमा हल्का वर्षा हुने भएको छ। भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट नेपाल भित्रिने गर्छ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार विशेष बुलेटिन जारी गरी बुधबार अपराह्नदेखि भित्रिने पश्चिमी वायुको प्रभाव शनिबारसम्म कायम रहने जनाएको छ।

‘हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सरिरहेको छ, त्यसैको प्रभावले बिहीबार देशैभरको मौसम प्रभावित हुँदै छ।’ –जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले मंगलबार साँझ नेपाल समाचारपत्रसँग भन्नुभयो।

उहाँले प्रस्ट्याउँदै भन्नुभयो– ‘पदयात्रा (ट्रेकिङ) गएका र जाने तयारीमा रहेका मात्रै होइन, हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्नेहरूले यो साता विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।’

हिमपात र वर्षाका कारण मुलुकभरको अधिकतम तापक्रम घट्ने र घामसमेत नलाग्ने भएकाले तराईका भेगमा समेत चिसो बढ्ने कँडेलले जानकारी दिनुभयो।