महिला सशक्तीकरणमा जोड दिन आग्रह

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर।

नेपालमा महिला सशक्तीकरणका सन्दर्भमा सरकार र विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आइरहेका छन्। इनरह्विल क्लब अफ भक्तपुर र इनरह्विल क्लब अफ राजधानीको संयुक्त आयोजनामा र इनरह्विल डिस्ट्रिक ३५० को सहयोगमा महिला शसक्तीकरण गोष्ठी सम्पन्न भएको छ।

कायक्रममा नेपालका ६२ जिल्लामा पैदलयात्रा गरेर विगत पाँच दशक अघिदेखि नेपाली महिलाको अवस्थालाई निकटबाट नियालेकी वरिष्ठ लैंगिक अधिकार विशेषज्ञ चाँदनी जोशीले व्यवहारमा धेरै कुरा अमिल्दा भएकाले समयानुकुल सुधार गर्नुपर्नेमा जोड दिनुभयो।

पुरुष प्रधान समाजमा नारी हरेक पाटोबाट पछि परेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नारी शसक्तीकरणमा नारी आफैं पनि सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। समाजमा बोलिने भाषा र शैलीले समेत नारीलाई होच्याएको, अपहेलना गरेकोले नारीप्रति व्यक्त गरिने भाषा र शब्द चयनमा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. गणेश गुरुङले महिला अधिकार तथा महिला सशक्तीकरणका सन्दर्भमा नीति निर्माण तर्जुमा गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउँदै संविधान र कानुनले गरेका व्यवस्था व्यवहारमा लागूगर्न सबैको सहयोग आवश्यक भएको तर्फ जोड दिनुभयो।

इनरह्विल डिस्ट्रिक ३५० कि राष्ट्रिय प्रतिनिधि कमलप्रभा खरेलले डिस्ट्रिकले महिला शसक्तीकरणको क्षेत्रमा आफ्ना विभिन्न क्लबमार्फत कार्य गर्दैआइरहेको बताउनुभयो। उहाँले बालिका शिक्षालाई मुख्य प्रथमिकतामा राखेर काम गर्दै आइरहेको जानकारी दिँदै बालिकालाई उचित शिक्षा दिनसके भोलिको दिनमा समाज रूपान्तरणमा भूमिका निर्वाह गर्ने सक्ने उल्लेख गर्नुभयो।

इनरह्विल डिस्ट्रिक ३५० कि अध्यक्ष समिरा धोजुले महिलालाई आत्मनिर्भर बनाउने र आफैं निर्णय गर्न सक्ने बनाई आर्थिक, सामाजिक र राजनीतिक क्रियाकलापमा महिला सहभागिता बढाउनुपर्ने आवश्यकता औल्याउँदै यसबाट आर्थिक, सामाजिक र राजनीतिक क्रियाकलापमा महिला सहभागिता बढ्ने, उनीहरूको आन्तरिक क्षमताको उजागर हुने, र जोखिम मोल्न सक्ने क्षमताको विकास हुने बताउनुभयो।

कार्यक्रममा इनरह्विल क्लब अफ भक्तपुरकी अध्यक्ष रीना ताम्राकारले गोष्ठीमा प्रस्तुत विषय नेपालमा महिला सशक्तीकरणको अवस्था, नीति, योजना, कार्य दिशा तथा सञ्चालित कार्यक्रम प्रस्तुत भएको बताउँदै कार्यक्रमले भविष्यमा निर्माण हुने नीति कार्यक्रम र प्राथमिकतालाई यथेष्ट आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

इनरह्विल क्लब अफ भक्तपुरका अध्यक्ष रीना ताम्राकारले आफ्ना अनुभवहरू तथा वर्तमान अवस्थामा महिला शसक्तीकरणको क्षेत्रमा भइरहेका कामहरू र नीति निर्माण तहमा राज्यले गरेका उपलब्धिको बारेमा समेत प्रकाश पारिदिनु भएकोमा वक्ता र सहभागीमा धन्यवाद व्यक्त गर्दै गोष्ठीबाट महिला सशक्तीकरणका लागि केही गर्ने थप प्रेरणा प्राप्त भएको र आगामी कार्यक्रममा पनि सबैबाट सहयोगको अपेक्षा गर्नुभएको थियो।