पढाइको बहाना, संगीतको चाहना


सल्यानबाट एसएलसी पास गरेपछि पढ्ने बहानामा काठमाडौं आए पनि रामु खड्कालाई संगीत क्षेत्रबारे कुनै ज्ञान थिएन। तर मेहनत र संघर्षका कारण उनी यति बेला सांगीतिक क्षेत्रमा स्थापित हुन सफल भएका छन्।

२०६४ सालमा दुःख पाइछु रे बोलको गीतमा संगीत भरेका उनको संगीतमा २०६७/२०६८ सालतिर आएको बरु दिन बिताउँला साथी बनेर बोलको गीतले लोकप्रियता कमायो। त्यस बेला धेरै लोकगीतप्रेमीको मुखमा बसेको यो भाकापछि उनी संगीतकारका रूपमा चिनिन थाले।

‘शुरूका दिनमा काठमाडौंको बसाइ र पैसाको अभावका दिन सम्झिँदा दुःख लाग्छ। त्यति बेला साथीहरूसँग कालिमाटीबाट तरकारी ल्याएर कीर्तिपुरमा सामूहिक तरकारी व्यापार पनि गरियो। अग्रजहरूको ढोकाढोकामा गएर गीतसंगीतबारे बुझ्न कोसिस गर्दा कुनै साथ र सहयोग पाइएन।

त्यही कारण आफूले नै केही गर्नुपर्छ भनेर लागिपरें। अहिले सफलता पाइसकेपछि ती दिन बिर्सिइँदो रहेछ। अहिले म पूर्णरूपमा संगीतमै निर्भर छु। मालती डिजिटल नामक कम्पनी पनि चलाइरहेको छु।’ –रामु भन्छन्।

हालसम्म करिब हजार गीतमा संगीत भरेका उनी हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, नारायण लामिछानेका गीतहरू सुन्दै यहाँसम्म आइपुगेको बताउँछन्। रामुको अनुभव छ– ‘पछिल्लो समयमा संगीतको धार नै परिवर्तन भएको छ। हुनत समयसँगै कला र संस्कृति पनि परिवर्तन हुँदै जाँदो रहेछ। अहिले नयाँ अभ्यासहरू भइरहेका छन्। सबैभन्दा गाह्रो कुरा भनेको आफूलाई अपडेट गरिराख्नु हो।

किनभने अहिले हामीले एक किसिमको धारमा काम गरिरहेका छौं। अर्कोले अर्कै खालको काम ग¥यो भने हामीलाई प्राक्टिक्स गर्न गाह्रो हुन्छ। सकेसम्म आफ्नो धारमा आयो भनेचाहिँ सजिलो हुन्छ। मैले मर्ने तिमी, साथी बनेर, आजभन्दा भोलि मायाजस्ता गीतबाट लोकगीतको धार परिवर्तन गरेको थिएँ।

अहिले फेरि फरक धार आएको छ। सबैभन्दा गाह्रो कुरा नै आफूलाई अपडेट गरिराख्नु हो। आफ्नै धारमा टिकाउन सकिएन भने दुःख लाग्छ। अहिले फरक धारका संगीत चलिरहेका छन् यसमा पनि हामीले एडजस्ट गर्दै जानुपर्छ।’