नेकपाका वडाध्यक्षमाथि कांग्रेसको कालोमोसो

0
Shares

चितवन, (नेस)।

इच्छामनकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो लगाउनुका साथै मलमूत्र खुवाउने प्रयास गरेको घटना सार्वजनिक भएको छ।

नेपालकै लोपोन्मुख जातिको सूचीमा रहेका चेपाङलाई स्थानीयको एक समूहले कुटपिट गर्दै जुत्ताको माला लगाएर कालोमोसो दलेपछि गाउँसमेत परिक्रममा गराएका थिए।

नेकपाबाट निर्वाचित वडाध्यक्ष चेपाङमाथि नेपाली कांग्रेसका कार्यकर्ता उत्तरकुमार गुरुङसहितको टोलीले सो अमानवीय कार्य गरेको बताइएको छ। वडा भवनको कार्यालय सार्ने विषयमा बिवाद भएपछि चेपाङलाई बोक्सोको आरोप लगाउँदै मलमूत्र खुवाउने प्रयास भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

वडाध्यक्ष चेपाङसँगै रहेका केही व्यक्तिलाई समेत गुरुङले नेतृत्व गरेको टोलीले कुटपिट गरेको थियो। लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहँदै आएका गुरुङलाई कांग्रेसले संरक्षण गरेपछि उनले गाउँमा दुःख दिँदै आएका थिए।

प्रहरीले उक्त काण्डमा संलग्न रहेका उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको थियो। चेपाङमाथि कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै नेकपा चितवनले विज्ञप्ति जारी गरेको छ।