एकाएक रणभूमि बन्यो कोहलपुर

0
Shares

नेपाल समाचारपत्र, बाँके।

दुर्घटनालाई लिएर बाँकेको कोहलपुर आइतबार दिनभरि रणभूमि बनेको छ। विद्यार्थीले शुरू गरेको आन्दोलनले उग्ररूप लिएपछि तोडफोड, आगजनी, गोली प्रहारदेखि निषेधित क्षेत्रसम्म घोषणा गरिएको छ। ना२ख ९४५९ नम्बरको ट्रकले भे६प २७४० नम्बरको स्कुटीबाट झरेर स्कुलतर्फ जाँदै गरेकी १२ वर्षीया प्रकृति चन्दलाई ठक्कर दिएपछि घटनाको शुरुआत भएको थियो।

ट्रकले खुट्टा कुल्चिदिएपछि गम्भीर घाइते भएकी प्रकृतिलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।आफ्नै आँखा अगाडि ट्रकले साथीलाई ठक्कर दिएपछि विद्यार्थी आक्रोशित भएका थिए। विद्यार्थीले ट्रकलाई तोडफोड गर्दै आगो लगाइदिएका थिए। त्यसपछि प्रहरीले विद्यार्थीलाई भगाउन लाठीचार्ज गर्नुका साथै स्कुलभित्रै पसेर विद्यार्थीलाई लछारपछार पारेको थियो।

प्रहरीले बल प्रयोग गर्नेबित्तिकै ठूलो संख्यामा रहेका विद्यार्थीहरू उग्र बनेका थिए। विद्यार्थीले नेपालगन्ज–कोहलपुर रुटको कोहलपुरस्थित त्रिभुवन स्कुल अगाडि बसेर एक दर्जन गाडीलाई तोडफोड गरेका थिए। प्रहरीले विद्यार्थीलाई भगाउन हवाइफायर समेत गरेको थियो। विद्यार्थीलाई प्रहरीले लछारपछार गरेको देखेपछि स्थानीय बासिन्दा आक्रोशित हुँदै आन्दोलनमा मिसिएका थिए।

उनीहरू मिसिएर ढुंगा प्रहार गरेपछि सानो संख्यामा रहेको प्रहरी टोली कोहलपुर बजारमा रहेको इलाका प्रहरी कार्यालयतिर फर्केको थियो। आक्रोशित भीडले इलाका प्रहरी कार्यालय हाताभित्र रहेको क्यान्टिन तोडफोड गरेर जलाइदिएका थिए।

प्रहरी कार्यालयमै आक्रमण भएपछि प्रहरीले हवाई फायरका साथै गोली नै चलाएको थियो। प्रहरीको लाठीचार्ज, गोली प्रहार र विद्यार्थीले हानेको ढुंगा लागेर ३० जना घाइते भएको बताइएको छ।

कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका १९ जना प्रदर्शनकारी, २ जना सशस्त्र र ९ जना नेपाल प्रहरी पुगेका थिए। छात्रा प्रकृति चन्दलाई हेलिकोप्टरबाट काठमाडौं लगिसकिएको छ। गोली लागेका ४३ वर्षका श्रीकान्त शर्मा र १८ वर्षका नारायण खत्रीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान अस्पतालले रिफर गरेको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कोहलपुर आसपासमा निषेधित क्षेत्र घोषणा गरिएको बताउनुभयो। ‘सर्वदलीय बैठकले पनि कफ्र्यु लगाउन उचित हुने सुझाव दिएको छ।’ –सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो। स्थानीय प्रशासनले किरणनाला, नौबस्ता, पिपरी र चप्परगौडीसम्मको घेरालाई निषेधित क्षेत्र कायम गरेको छ।

कोहलपुरमै बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने, घाइतेको उचित उपचारका लागि काठमाडौं पठाउने, तोडफोड भएका साधनको क्षतिपूर्तिका लागि सरकारसँग पहल गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव अशोक कोइरालाले जानकारी दिनुभयो।

कोहलपुरलाई शान्त बनाउन जिल्लाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। बाँकेका एसपी वीरबहादुर वलीले झडपमा तीन दर्जन प्रहरी घाइते भएको बताउनुभयो। ‘बालबालिकालाई अगाडि सारेर पछाडिबाट ढुंगा हान्ने काम भयो’, एसपी वलीले भन्नुभयो– ‘ट्रकमै चालकलाई राखेर आगो लगाउने प्रयास भएको थियो। हामीले समयमै पुगेर बचायौं।’ एसपी वलीले कति राउन्ड रबरको गोली चल्यो र हवाई फायर भयो भन्नेबारे पछि थाहा हुने बताउनुभयो।