तीन नेपाली महिला बक्सर फाइनलमा

0
Shares

कविरस शर्मा, काठमाडौं। 
जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बक्सिङतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन्।योसँगै कुल चार नेपाली महिला बक्सरले स्वर्णका लागि भीडन्त तय गरे।
ललितपुरको सातदोबाटोमा शनिबार भएको खेलमा ललीता महर्जन, मिनु गुरुङ र संगीता सुनार फाइनलमा प्रवेश गरेका हुन् भने ६४ केजीकी पूनम रावल यसअघि नै बाइ पाएर फाइनल पुगिसकेकी छन्। ४८ केजी तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन्।

फाइनलमा उनको सामना भारतकी कलाइभानी श्रीनिवासनसँग हुनेछ। श्रीनिवासनले भूटानकी ल्हामो टान्डिनलाई हराएकी हुन्। त्यस्तै ५४ केजी तौल समूहको खेलमा मिनुले पनि बंगलादेशकी ओनिता इस्लामलाई अंककै आधारमा पराजित गरिन्।

६० केजी तौल समूहको खेलमा संगीताले श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदै भारतकी परबिनसँग स्वर्णका लागि भेट पक्का गरिन्। परबिन भने बाइ पाएर सोझै फाईनल प्रवेश गरेकी हुन्।

पुरुषतर्फ भने ६४ केजी तौलको सेमिफाइनलमा नेपालका भूपेन्द्र थापा मगरले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका छन्। भुपेन्द्रले भारतका मनिष कौशिकसँग भीडन्त गर्नेछन्। मनिषले श्रीलंकाका डिनिडु डु पोन्नविला भिदानालागे दनलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।

अन्य नेपाली खेलाडी भने पराजित हुँदै कास्यमै चित्त बुझाएका छन्। ४९ केजी तौल समूहमा सुशील थापा मगर भारतका विनोद तनवरसँग अंकको आधारमा पराजित भयो। ५६ केजी तौल समूहमा पूरन राई पराजित भए।
यसअघि बाइ पाएर सोझै सेमिफाइनल पुगेका उनी बंगलादेशका मोहमद रोबिन मियासँग स्पिलिट डिसिजनको आधारमा पराजित भएका थिए। ९१ केजीको भीडन्तमा अर्जुन सिगु भारतका गौरव चौहानसँग हारेका थिए।
फाइनल पुग्ने नेपाली खेलाडीहरू
महिलातर्फ
ललीता महर्जन (४८ केजी)
मिनु गुरुङ (५४ केजी)
संगीता सुनार (६० केजी)
पूनम रावल (६४ केजी)
पुरुषतर्फ
आशिष दुवाडी (९१ केजी माथि)
भूपेन्द्र थापामगर (६४ केजी)
कास्य पक्का
हुने खेलाडीहरू ः सुशील थापा मगर, पूरन राई, अर्जुन सिगु