परीक्षा प्रणालीमा सुधारको मागगर्दै पूर्वान्चल विश्वविद्यालयमा तोडफोड


सरोज यादव, विराटनगर ।

परीक्षा प्रणालीमा सुधारको मागगर्दै पूर्वाञ्चल विद्यालयका विद्यार्थी आन्दोलित भएका छन ।

उनिहरुले विराटनगरस्थित पियुको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड समेत गरेका छन । पूर्वाञ्चल विश्वविद्यालय सम्बद्ध विभिन्न कलेका विद्यार्थीहरु यतिखेर आन्दोलित छन ।

पियुको परीक्षा प्रणाली अपारदर्शी र विद्यार्थी मैत्री नभएको आरोप लगाउदै विद्यार्थीहरु आन्दोलित भएका हुन । आन्दोलित विद्यार्थीहरु परीक्षा नियन्त्रण कार्यालय सामुन्नेको सडकमा धर्ना र नाराबाजी गरेका छन ।

आन्दोलित विद्यार्थीहरुले विराटनगर–२ शनिहाटमा रहेको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड समेत गरेका छन ।

विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयको परीक्षा नियन्त्रक र सह नियन्त्रकको कार्यालय सहित प्रशासन र लेखाशाखामा तोडफोड गरेका छन ।
तोडफोडबाट ती शाखाका झ्यालका शिशा र फर्निचरहरुमा क्षति पुगेको परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।

विगतमा दिएको इन्जिीनियरीङको लिखित परीक्षामा विद्यार्थीहरु उतीर्ण हुनुपर्नेमा जानाजान अनुुतीर्ण गराइएको विद्यार्थी नेता मनोजकुमार रोहिताको दाबी छ ।
आन्दोलित विद्यार्थीहरुले विभिन्न मागराख्दै परीक्षा नियन्त्रकलाई यसअघिनै ज्ञापन समेत बुझाइसकेका छन ।

विद्यार्थीहरुले बुझाएका ज्ञापनमा हरेक सेमेष्टरमा चान्स एक्जाम गर्नुपर्ने,परीक्षाफल निष्पक्ष तरिकाले चेकजाँच गर्नुपर्ने, रिचेकिङमा लाग्ने ५ हजार दस्तुरलाई ५ सय बनाउनुपर्ने, परीक्षाफलमा लापरवाही गर्ने शिक्षक र कर्मचारीलाई बर्खास्त गर्नुपर्ने, रिचेकिङको ब्यवस्थागरि परीक्षाफल परीवर्तन भएमा परिवर्तित परीक्षाफल लागु गर्नुपर्ने र उत्तरपुस्तिका कोडिङगरि मात्र चेक गर्न दिने ब्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन ।

यता सो बिषयमा प्रतिक्रिया दिनुहुँदै पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका परीक्षा नियन्त्रक प्रो.डा.सुर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु पियुको निति अनुरुप सम्बोधनगर्न हरदम तयार रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले क्याम्पसको माध्यमबाट प्रक्रियागतरुपमा विद्यार्थीहरुले आफ्ना समस्या लिएर आए नियमसंगत ढंगले सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।

विद्यार्थीहरुले कार्यालयको गेटमै बसेर धर्ना र नाराबाजी गर्न थालेपछि सो क्षेत्रको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । विद्यार्थीहरुले भने आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएका छन ।