बढ्दै मृगौला रोगीः रोगीको क्रोदन, कसले सुनिदिने पीडतको रोदन


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको सखुवाप्रसोनी गाउँपालिका वडा नम्बर १ औराहाका २६ बर्षीय मनोज चौधरी घरीघरी रोइरहेको मात्रै देखिनुहुन्छ ।

छेऊमा रहेकी आफ्नी सुत्केरी जीवन संगिनी मायाँदेवी र २ बर्षकी छोरी तथा एक महिनाकी नाबालिका छोरी तर्फ घरी घरी हेर्दै उहाँ भक्कानिनिुहुन्छ ।

उमेरले भर्खर २६ बर्षमा प्रवेश गरेका मनोजको जीवनमा अहिले आँधी बेहरी चलिरहेको छ । गत साउनमा आफ्नो शरिरमा केही समस्या आएपछि उहाँ अस्पतालमा उपचारका लागि पुग्नुभयो अनि मात्रै उहाँलाई थाहा भयो आफ्नो दुबै मृगौलाले काम गर्न छाडेको कुरा ।

दुबै मृगौलाले काम गर्न छाडेपछि उहाँ अहिले नियमित डाइलासिसमा रहनु भएको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा उहाँ उपचाररत रहनु भएको छ ।

सरकारले मृगौला पीडितका लागि डाइलासिसको उपचारको ब्यवस्था निःशुल्क गरेपनि अन्य उपचार प्रकृया महँगो छ । औषधी लगायतका खर्चले गर्दा आफूलाई जीवन चलाउन नै साह्ै धौधौ भएको मनोजले गुनासो गर्नुभयो ।

उहाँले आफ्नी दुई छोरीका लागि भएपनि आफू केही बर्ष अझै बाँच्न चाहेको तर उपचार खर्च अभावका कारण समस्यामा पर्ने गरेको पीडा पोख्नुभयो । मनोजकी एक महिनाकी सुत्केरी श्रीमती मायाँ देवी आफ्नो,बच्चाको र श्रीमतीको स्याहारले गर्दा थकित हुनु भएको छ । आफू सुत्केरी हुँ भन्ने कुरा श्रीमान्को पीडाले बेलाबेलामा बिर्सने गरेको बताउनुभयो ।

नेशनल मेडिकलका चिकित्सकहरुले आफूहरुले थप उपचार गर्न नसक्ने र काठमाडौं जान चौधरीलाई भनेपनि खर्च अभावका कारण मनोज काठमाडौं जान सक्नु भएको छैन । काठमाडौं जानेसम्म खर्च नभएको अवस्थामा कसरी उपचार गर्नु उहाँको प्रश्न छ ।

बढ्दै मृगौला रोगी

नेशनल मेडिकल कलेज वीरगन्जका प्रवन्ध निर्देशक डा. जैनुद्दिन अंसारीका अनुसार वीरगन्जको नेशनल मेडिकल कलेजमा हप्तामा पाँचजनासम्म मृगौला रोगीहरु उपचारका लागि आउने गर्दछन् ।

अहिले पनि हप्ता त्यत्तिकै संख्यामा डाइलासिस गराउने बिरामीहरु अस्पतालमा आउने गर्दछन् । बढ्दो शहरिणकण तथा खानपानको बेथिती तथा पारावारिक कारणले मृगौला रोगीको संख्या बढेको डा.अंसारीको भनाइ छ । वीरगन्जको सरकारी अस्पताल नारायणी क्षेत्रीय अस्पतालमा पनि मृगौला रोगीहरु छन् ।

उनीहरु पनि दैनिकजसो डाइलासिस सेवाका लागि अस्पतालमा आउने गर्दछन् । मृगौला रोगबाट जोगिनका लागि कम्तीमा ६ महिनामा ४० बर्ष कटेका ब्यक्तिहरुले मृगौलाको अवस्थाका बिषयमा परिक्षण गराइ जानकारी लिनुपर्नेमा चिकित्सकहरुले सुझाउदै आएका छन् ।