विकटताले फर्कियो बजेट, तीन वर्षदेखि अधुरो


मोतीराम तिमल्सिना, काभ्रे ।

महाभारत गाउँपालिकामा रहेका ४९ वटा सामुदायिक विद्यालय भुकम्पबाट पूर्ण रुपमा क्षति भए पछि शुरु भएको पुननिर्माणले ७३ प्रतिशत सफलता प्राप्त गरेको छ ।

३२ विद्यालयका ४४ वटा भवन निर्माण सम्पन्न भएका छन् भने केहि निर्माणको अवस्थामा छन् । विकटताकै कारण केहि विद्यालयमा विनियोजन भएको रकम फिर्ता भएको छ ।

‘चालु वर्ष निर्माण वर्षका रुपमा घोषणा गरेर अभियान शुरु गरेका छौं’–महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘भुकम्पले पूर्ण क्षति भएका अधिकांश विद्यालय पुननिर्माणको चरणमा छौं ।’ जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत विभिन्न दाताहरुको सहयोगमा महाभारत गाउँपालिकामा विद्यालय पुननिर्माणका लागि १७ करोड ६४ लाख रकम विनियोजन भएको छ ।

जसमध्ये १२ करोड ३७ लाख पुननिर्माणमा खर्च भईसकेको छ । ग्रामोन्नती मावी र भैरव मावी ठेक्का प्रकृयाद्वारा निर्माण शुरु भएको छ भने विद्यालय ब्यवस्थापन समिति मार्फत केहि विद्यालय निर्माण भईरहेका छन् ।

शिक्षा कार्यालय मार्फत १० वटा विद्यालयको मर्मत सम्भार भएको छ । ‘२०७७ चैत्र भित्र जिल्लाका सबै विद्यालयहरु पुननिर्माण सक्ने गरी कार्य अघि बढेको छ’–जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) का प्रमुख द्धारिकाप्रसाद पोखरेलले बताउनु भयो–‘महाभारत लगायत विकट क्षेत्रमा विद्यालय भवन निर्माणमा भागौलिक विकटताले चुनौती थपिएका छन् ।’

विद्यालय पुननिर्माणसँगै शौचालय निर्माणमा जोड दिईएको छ । कार्यान्वयन ईकाईले अजिल्लामा १ सय ४० वटा शौचालय निर्माणको कार्यलाई तिब्रता दिएको छ ।

विद्यालयको भवनसँगै विद्यार्थीहरुको सहजताका लागि शौचालय निर्माण कार्यलाई प्राथमिकतामा राखी कार्य शुरु गरिएको इन्जिनियर सोभित श्रेष्ठले बताउनु भयो ।

भवनको रकम फिर्ता

भौगोलिक विकटताका कारण महाभारतका तीन विद्यालयमा विनियोजन गरिएको भवन निर्माण शिर्षकको रकम फिर्ता भएको छ । कोखादेवी प्रावी, वनखु, सरस्वती प्रावी घ्याप्रिङ्ग, जनकल्याण प्रावीमा सडक नहुँदा निर्माण सामाग्री लैजान कठिन भएकाले रकम फिर्ता भएको इन्जिनियर सोभित श्रेष्ठले बताउनु भयो ।

‘कुनै विकल्प छैन, न विद्यालय ब्यवस्थापन समितिले जिम्मेवारी लिन्छ, न ठेक्कामा लगाउन सकिन्छ’–इन्जिनियर सोभित श्रेष्ठले भन्नुभयो–‘बालबालिकाहरु टहरामा छन्, पैसा छ, भवन बनाउन सकिएको छैन । भवन निर्माण गर्न नसक्दा रकम फिर्ता गर्नु प¥यो ।’

महाभारतका केहि विद्यालयहरुमा १० किलोमिटर भन्दा टाढाबाट सामाग्री बोकेर विद्यालय भवन निर्माण गरिएको छ । गौरी निमावी वडा नम्वर ५, दिब्य ज्योती प्रावीमा सडक पुग्न नसक्दा भवन निर्माण भए पनि शौचालय निर्माण हुन सकेको छैन । ४ घण्टाको दुरीमा सामान बोकेर निर्माण गरिएका विद्यालयमा बालबालिकाहरुले अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् ।

तीन वर्षमा पनि बनेनन विद्यालय

महाभारत गाउँपालिका वडा नम्वर ६ बनखु गोल्टारमा रहेको गौलेश्वरी आधारभुत विद्यालयको ४ कोठे पक्कि भवन तीन वर्ष वितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।

६२ लाख २७ हजार १ सय ९१ रुपैया लागत रहेको उक्त विद्यालय भवन निर्माणका लागि विद्यालय ब्यवस्थापन समितिले स्थानीय ठेकेदार रामबहादुर योञ्जनलाई ठेक्का दिएको थियो ।

समयमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरी विद्यालयले जिम्मेवारी दिए पनि योञ्जनले भवन निर्माणमा आलटाल गर्नु भएको हो । ‘हामीबाट उहाँले पटक पटक रकम लैजानु भयो तर समयमै निर्माण गरिदिनु भएन’–विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मानबहादुर बजुले भन्नुभयो–‘एउटा भवन सम्पन्न गर्न नसक्दा अर्काे भवन र शौचालय निर्माणमा समेत असर पर्यो । बालबालिकाहरुलाई बाँसको टहरामा पढाउन बाध्य हुनु परेको छ ।’

समयमै काम सम्पन्न गर्न गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख द्धारिकाप्रसाद पोखरेल, इन्जिनियर सोभित श्रेष्ठ सहितको टोलीले अन्तिम चेतावनी दिएर फर्किएको छ । १ सय ५२ जना विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा कोठाको अभावमा बालबालिकाहरु टहरामा बस्न बाध्य छन् ।

प्रधानाध्यापक हिराबहादुर राना मगरले अन्तिम पटक दिएको समयावधी भित्रै निर्माण सम्पन्न गर्ने गरी कार्य गरेको बताउनु भयो । ‘ठेकेदारको असहयोग र लार्पवाहि, भौगोलिक विकटताका कारण ढिलाई भएकाले आत्मालोचित हुन्छौं’–प्रधानाध्यापक हिराबहादुर राना मगरले भन्नुभयो–‘हाम्रो कारण बालबालिकाहरुलाई समेत असर परेको छ ।’ निर्माण सम्पन्न नहुँदै आयोजना कार्यान्वयन इकाईले ५५ लाख रकम भुक्तानी गरिसकेको छ ।

जनकल्याण आधारभुत विद्यालय बनखु ७ मा रहेको विद्यालयको पुननिर्माणमा ढिलाई भएको छ । दुर्गम क्षेत्र सडकको विकटताको कारण भवन निर्माण ढिलाई भएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर लो ले बताउनु भयो ।

१४ विद्यालय अनुगमन

महाभारत गाउँपालिकामा रहेका १४ वटा विद्यालयको अनुगमन भएको छ । ग्रामोन्नती मावीमा एडिवीको ऋण सहयोगमा ८ करोड ६४ लाखको २१ कोठे २ वटा भवन निर्माण भईरहेका छन् ।

५ सय ५० विद्यार्थी रहेको उक्त विद्यालय महाभारत क्षेत्रकै धेरै अनुदान प्राप्त गर्ने विद्यालय हो । विद्यार्थीको अनुपातमा शिक्षक नरहेको उक्त क्षेत्रमा बालबालिकाहरु घण्टौ हिडेर आउने गरेका छन् । विद्यालयको आफ्नै छात्राबास समेत छैन ।

ग्रामोन्नती मावी, शुभकामना प्रावी, भैरवेश्वर आधारभुत विद्यालय, सिद्धेश्वर मावी, जनमोहन मावी, आजाद आधारभुत विद्यालय, जनकल्याण आधारभुत विद्यालय, ज्योती आधारभुत विद्यालय, गौलेश्वरी आधारभुत विद्यालय, जनकल्याण मावी, चन्द्रोदय प्रावी, भैरव मावी, गोकुले मावी, हायुखोला प्रावीको अनुगमन गरी तत्काल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिदै निर्माण सम्पन्न भएका विद्यालयहरुमा फर्निचर, तारघेराबार, शौचालय निर्माणको कार्य गर्ने योजना बनाईएको छ ।