नेपाल समाचारपत्र, काठमाडौं।
ललितपुरमा सडक विस्तारको क्रममा एक हुल आएर डोजर चालकमाथि निर्घात कुटपिट गरेका छन्। सडक विस्तारको काम भइरहेको बेला ललितपुरको गोदावरीमा बुधबार विहान डोजर चालकमाथि अज्ञात समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।
उक्त समूहको आक्रमणमा परी चालक सन्तोष कोइराला घाइते भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ। वृत्तका प्रमुख गौतम मिश्रका अनुसार चालकको दाहिने हात भाँचिएको र शरीरको अन्य भागमा समेत चोट लागेकोले उपचारका लागि अस्पताल पुर्याइएको छ।
‘सडक विस्तार भईरहेको अवस्थामा काममा खटिएका चालकमाथि आक्रमण हुँदा चालक घाइते भएका छन्। चालकलाई उपचारका लागि अस्पताल पठाईएको छ।’ उहाँले भन्नुभयो।
घाइते चालकलाई मेडिसिटीमा उपचारका लागि पठाईएको वृत्त प्रमुख मिश्रले जानकारी दिनुभयो।
गोदावरी बसपार्कभन्दा डेढ किलोमिटर तल टौखेलमा सडक विस्तारको क्रममा माटोे पन्छाइरहेका डोजरचालक कोइराला माथि आक्रमण भएको थियो। सातदोबाटो–हात्तिबन–बाँडेगाउँ–टौखेल–गोदावरी खण्डको सडक विस्तारको क्रममा सडक चौडा र सडक कालोपत्रे गर्ने काम भइरहेको छ।
उक्त सडक खण्डको विस्तार र कालोपत्रे गर्ने काम लामा समान्तर जेभीले गरिरहेको छ। सडक विस्तारका क्रममा लगाइएको पर्खालमा माटो पुर्ने काम गरिरहेका बेला केही व्यक्ति आएर स्काभेटर चालकलाई आक्रमण गरी फरार रहेको सूचना आएको र उनीहरूको खोजी भइरहेको वृत्त प्रमुख मिश्रले जानकारी दिनुभयो।
विस्तार गरिरहेको सडक खण्डको बाँडेगाउँ–गोदावरीको ३ किलोमिटरको सडक विस्तारमा पहिले सेन्टरबाट १०/१० मिटर फराकिलो बनाउने निर्णय भएको थियो। तर स्थानीयले पटकपटक विरोध गरेपछि सहमतिमा सडक ८ मिटरमा घटाएको छ।











प्रतिक्रिया