नगरकोटका ५२ घर नमुना बस्ती घोषणा

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।

चाँगुनारायण नगरपालिकाको नगरकोट फेदीमा ५२ घर रहेको बस्तीलाई नमुनाबस्ती घोषणा गरिएको छ। नमुना बस्तीको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नुभयो। नगरकोटका बस्तीलाई नमुनाबस्ती बनाउने र घरवाससमेतको विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले निश्चित् मापदण्ड पूरा गरेका बस्तीलाई नमुनाबस्तीका रूपमा विकास गर्न थालेको हो।

नगरकोटका बस्तीलाई नमुनाबस्ती बनाउने र घरवाससमेतको विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले निश्चित् मापदण्ड पूरा गरेका बस्तीलाई नमुनाबस्तीका रूपमा विकास गर्न थालेको हो।

कार्यक्रममा नमुनाबस्ती अवलोकनका लागि अष्ट्रेलियाको वास फर ओमेन अर्गनाइजेसनबाट सार्क राष्ट्रलगायत विभिन्न देशको प्रतिनिधित्व गर्दै आएका २५ सदस्यीय टोलीलाई नगर प्रमुख मिश्रले चाँगुनारायण विकासका लागि गर्न सकिने सम्भाव्यताका विषयमा जानकारी दिनुभएको थियो।

उहाँले बस्तीमा सुधार गर्नुपर्ने पक्षका विषयमा विदेशी टोलीलाई जानकारी गराउँदै यो ठाउँको विकासका लागि सधैं नगरपालिकाको साथ र सहयोग रहेको जानकारी गराउनुभयो। नगर प्रमुख मिश्रले नमुनाबस्ती मात्र नभइ यहाँका बस्तीलाई विदेशी तथा स्वदेशी पर्यटकका लागि आकर्षक आगमनस्थलको रूपमा विकास गर्नका लागि सरसफाइमा ध्यान दिई जैविक खानेकुराको मात्रै प्रयोग गरी घरवासका रूपमा विकास गर्ने सम्भाव्यता रहेको जानकारी दिनुभयो।

‘सफा सुग्घर घर आगन, सफा स्वच्छ बाटो, पूर्णसरसफाइ उन्मुख बन्दैछ, चाँगुनारायणको माटो’ भन्ने मुलनाराका साथ पूर्ण सरसफाइ तर्फ अग्रसर नगरकोटको फेदि नमूनाबस्तीमा ५२ घरले ५२ सदस्य टोली बनाइ आफ्नो ठाउँलाई स्वच्छ सफा दिसापिसाब मुक्त हराभरा ठाँउ र विषाधिमुक्त तरकारी तथा जैविक खानेकुराको थालनी गर्न तयारी गरेको वडा नं–६ का वडा संयोजक नानुमैंया गिरीले जानकारी दिनुभयो।

नमूनाबस्तीमा पनि दुई घरमा घरवास सञ्चालन शुरु गरिएको छ। यसलाई विस्तार गर्ने योजना रहेको छ। नगरकोटको बाँस्तोला गाउँका सञ्चालनमा रहेका १७ घरवासमध्ये २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि अहिले आठ घरवास सञ्चालन भइरहेका नगरकोट सामुदायिक होम स्टेका उपाध्यक्ष तथा होमस्टे एशोसिएशन नेपालका केन्द्रीय सदस्य राजकुमार लामिछानेले जानकारी दिनुभयो।

आगामी दिनमा १७ घरमा घरवास सञ्चालनका लागि तयारी भइरहेको लामिछानेले जानकारी दिनुभयो। अष्ट्रेलियाको वास फर युमेन अर्गनाइजेसनबाट टोलीले नमूना बस्तीको अवलोकन गरेको छ। एलियासको नेतृत्वमा आएको टोलीले हाल सर्लाही र उदयपुरका नमूनाबस्तीमा काम गरिरहेको छ, भने काठमाडौंका ग्रामीण बस्तीमा नमूनाबस्तीको स्थिति जान्नका लागि नगरकोट फेदीमा पनि अवलोकन गरेका छन्।

टोलीले बस्तीको अवस्था, सरसफाइ, शौचालयको सफाइ, साबुनको प्रयोग, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, घरबाट निस्कने फोहरको व्यवस्थापन, अर्गानिक सागसब्जी तरकारीको प्रयोग र नमूना समुदायभित्र घरवास सञ्चालन भएको लगायतको अवलोकन गरेका थिए।

नमूनाबस्तीका टोल संयोजक रूपा गजुरेलले अबका दिनमा नमूनाबस्तीले बनाएको आचारसंहिता अनुसार सरसफाइलाई ध्यान दिई जैविक खानेकुरामा प्राथमिकता दिने र यो ठाउँलाई भक्तपुर जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउने बताउनुभयो।