पत्रकारको अगुवाइमा कारागारमा पुस्तकालय

0
Shares

रोल्पा, (नेस)।

रोल्पाका पत्रकारले जिल्ला कारागारभित्र मिनि पुस्तकालय स्थापना गरेका छन्। नेपाल पत्रकार महासंघ रोल्पा शाखाको १४औं स्थापना दिवसका अवसरमा उनीहरुले सो पुस्तकालय स्थापना गरेका हुन्।पुस्तकालयमा जीवन उपयोगी तथा सकारात्मक सोंच सम्वन्धी पुस्तक राखिएको नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशिराम डाँगीले जानकारी दिनु भयो।

कारागार बसाइलाई सहजता मिलोस भन्ने उद्देश्यले मिनि पुस्तकालयको अवधारणा ल्याएका हौं डाँगीले भन्नुभयो। डाँगीका अनुसार हाल ६ दर्जन बढी विभिन्न खालका पुस्तक संकलन गरी हस्तान्तरण गरिएको छ।

पत्रकार महासंघको संयोजनमा जिल्लामा क्रियाशील पत्रकार तथा अन्य व्यक्तिहरुले समेत पुस्तक खरिदमा सहयोग गरेका थिए। २३ हजार मूल्य बराबरको पुस्तक हस्तान्तरण गरेका छौं, नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष डीएस डाँगीले भन्नु भयो। ‘यो अभियानको सुरुवात हो आगामी दिनमा पनि यसलाई निरन्तरता दिएर कारागारभित्र पुस्तकालय स्थापनाको लक्ष्य पुरा गर्ने सोंचमा छौं’ –डाँगीले भन्नुभयो।

पुस्तकले कैद जीवन भोगिरहेका वन्दीहरुलाई भरपुर मद्दत गर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो। कैदी वन्दीहरुलाई यस्ता पुस्तकले सकारात्मक सोचको विकासमा टेवा पुग्ने ढकालको भनाई छ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने र जिल्ला समन्वय समिति रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियारले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई पुस्तक हस्तान्तरण गरेका थिए।

कारागारमा पुस्तकालय नभएको भन्दै कैदी वन्दीहरुले विभिन्न समयमा माग गर्दै आएका थिए। जिल्ला कारागार रोल्पामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संबद्ध विभिन्न जिम्मेवारीमा रहेका १ दर्जन वढी वन्दीका साथै विभिन्न आरोपमा कैद भूक्तान गरिरहेका ६ दर्जन बढी कैदी वन्दी रहेको बताईएको छ।