पहिलोपटक आईएफआरसीको महासचिवमा नेपाली

0
Shares

नेपाल समाचारपत्र, कामाडांै

अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आईएफआरसी)को महासचिवमा पहिलोपटक एक नेपाली चुनिएका छन्। चितवनमा जन्मिएर २५ वर्ष अघि जुनियर युवा रेडक्रस सर्कलबाट रेडक्रसमा प्रवेश गर्नुभएका जगन चापागाईंलाई मंगलबार जेनेभामा आयोजित सम्मेलनमा खुल्ला प्रतिस्पर्धाका आधारमा कार्यकारी समितिले महासचिवमा चुनेको छ।

नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेल नेपाली नागरिक अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी पदमा पहिलोपटक चुनीनु भएकोमा खुशी व्यक्त गर्नुभएको छ। उहाँ भन्नुहुन्छ – ‘यो आम नेपालीका लागि गौरवको विषय हो।’

२०२४ सालमा नेपालको भरतपुर दिव्य नगरमा जन्मनुभै रेडक्रसमा आबद्ध हुनुभएका चापागाईं विगतमा भुटानी शरणार्थी शिविर झापामा रहेर नेपाल रेडक्रसको सहयोग कार्यक्रमअन्तर्गत ५ वर्ष काम गर्नु भएको थियो भने उहाँले भारतमा गएर पनि रेडक्रसमा रही काम गर्नुभयो। ‘पछिल्लो समय महासंघमा आबद्ध चापागार्इंले पुर्याउनुभएको योगदानको नेपाल रेडक्रस सोसाइटी मुक्तकण्ठले प्रशंसा गर्दछ’ –पौडेलले भन्नुभयो।

यसअघि चापागाईंले एसिया–प्यासेफिकको क्षेत्रीय निर्देशक तथा महासचिवको कार्यालयमा सहायक महासचिवको रूपमा काम गरिसक्नुभएको छ। अन्तर्राष्ट्रिय रेडक्रस महासंघ विश्वकै ठूलो मानवतावादी सञ्जाल हो।

यो संघले संसारभरिका १ सय ९० देशमा काम गरिरहेको छ। १ लाख ६० हजार शाखा रहेका छन् र त्यसमा २ करोड स्वयमसेवीहरू आबद्ध छन्।चारवर्षे कार्यकालका लागि चुनिनुभएका चापागाईंले सन् २०२० फेब्रुअरि १ तारिखदेखि कार्यभार सम्हाल्नुहुनेछ।

अन्तर्राष्ट्रिय रेडक्रस महासंघका अध्यक्ष फ्रान्सिस्को रोक्काले चापागार्इं चुनिनुभएकोमा उत्साहित भएको तथा रेडक्रसले लिएको लक्ष्य अनुरूप अघि बढ्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।